२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसद राईको कडा खुला पत्र : संसद् छलेर सरकार चलेको आरोप



खोटाङ, २२ वैशाख । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारमाथि संसद् छलेर काम गरिरहेको गम्भीर आरोप लगाएका छन्। उनले सार्वजनिक गरेको एक खुला पत्रमार्फत देशको सार्वभौमिकता, सीमासुरक्षा र जनजीविकासँग जोडिएका विषयमा सरकार मौन बसेको भन्दै तीव्र असन्तुष्टि जनाएका हुन्।

राईले खुला पत्रमार्फत भारतले कैलाश–मानसरोवर जाने बाटो विस्तार गर्ने क्रममा नेपाली भूभाग अतिक्रमण गरेको दाबी गर्दै त्यसबारे सरकार गम्भीर नदेखिएको बताएका छन्। “सीमामा भइरहेको गतिविधि रोक्न कूटनीतिक पहल किन नगर्ने?” भन्ने प्रश्न उठाउँदै उनले चीन, भारत, नेपाल र संयुक्त राष्ट्रसंघलाई समेटेर बहुपक्षीय वार्ताको पहल गर्नुपर्ने बताएका छन् । उनले सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति कमजोर हुँदा अतिक्रमण बढेको उल्लेख गर्दै तत्काल सीमा सुरक्षा मजबुत बनाउनुपर्ने माग गरेका छन् ।

खुला पत्रमा सांसद राईले विपद् व्यवस्थापनमा समेत सरकार असफल भएको आरोप लगाएका छन् । अर्को तर्फ सुकुम्बासी बस्तीमा डोजर चलाउने तत्परता देखाउने राज्य, विपद् प्रभावित क्षेत्रमा उद्धार र पुनर्निर्माणमा किन सुस्त छ? बाढीले भत्काएका संरचना महिनौंसम्म जस्ताको तस्तै रहनु राज्यको कार्यक्षमता माथि गम्भीर प्रश्न हो।

पत्रको अन्त्यमा राईले सरकारलाई पारदर्शिता अपनाउँदै जनतामुखी निर्णय लिन आग्रह गरेका छन्। साथै, जनतालाई स्पष्ट जवाफ दिन पत्रकार सम्मेलनमार्फत सरकारको धारणा सार्वजनिक गर्नुपर्ने माग पनि गरेका छन्।उनको यो खुला पत्र सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा सरकारको कार्यशैलीबारे बहस चर्किने संकेत देखिएको छ। सांसद राई जस्ता आवाजहरू किन उठिरहेका छन् भन्ने बुझ्न जरुरी छ।

ती केवल व्यक्तिका अभिव्यक्ति होइनन् ती राज्यप्रतिको बढ्दो असन्तोषका संकेत हुन् । सरकारले अब पनि प्रश्नहरूबाट भाग्ने हो भने समस्या थप गहिरिनेछ। समयमै स्पष्ट धारणा, दृढ कूटनीति र उत्तरदायी शासनमार्फत विश्वास पुनःस्थापित गर्नुको विकल्प छैन। अन्यथा, आलोचनाका स्वरहरू अझ तीखा हुँदै जाने निश्चित छ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार ००:००  १२ : ३४ बजे