१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रावाबेँसी गाउँपालिकाको लोचाखोलामा मोटरेबल पक्की पुल निर्माण सुरु



खोटाङ। रावाबेँसी गाउँपालिकाको हौँचुरस्थित लोचाखोलामा मोटरेबल पक्की पुल निर्माणको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तरगत विनियोजन भएको रु पाँच करोड ११ लाख ४६ हजार बजेटमा पुल निर्माणको काम सुरु गरिएको हो ।

भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत ठेक्का आव्हान गरिएकामा आर के देन्धुप जे.भी सोलुखुम्बुले रु दुई करोड ८९ लाख ७५ हजार २८८ बजेटमा सम्झौता गरेर निर्माणको काम सुरु गरेको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । निर्माण कम्पनीसँगको सम्झौताअनुसार वि.सं. २०८४ जेठ–३१ भित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

निर्माण कम्पनीसँगको सम्झौता अनुसार १५ मिटर लामो मोटरेबल पक्की पुल निर्माण गरिने जनाइएको छ । लोचाखोलामा निर्माण हुने मोटरेबल पक्की पुलले रावाबेँसी गाउँपालिका–१ कुभिण्डे र सोही गाउँपालिकाको वडा नं. ६ हौँचुरका स्थानीयलाई आवतजावतमा सहज अपेक्षा गरिएको छ ।

सम्झौता गरेको केही दिनपछिबाट निर्माण सुरु गरिएको लोचाखोला पुलको औपचारिक शिलान्यास आज (शनिबार) कोशी प्रदेश सरकारका निर्वतमान भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले गर्नुभएको छ । लोचाखोलामा पुल नहुँदा समस्या झेल्दै आएका स्थानीय ढिलै भएपनि प्रदेश सरकारको लगानीमा मोटरेबल पक्की पुल निर्माण हुने भएपछि हर्षित भएका छन् ।

भौगोलिक रूपमा खोला तथा कोशीले घेरिएको खोटाङमा मोटरेबल पक्की पुलको अभाव रहेको उल्लेख गर्नुहुँदै निवर्तमानमन्त्री राईले आफू भौतिक पूर्वाधार विकासमन्त्री हुँदा आफ्नो जिल्लालाई प्राथमिकतामा राखेर काम गर्ने प्रयास गरेको जानकारी दिनुभएको छ । “जिल्लाका धेरै स्थानमा मोटरेबल पक्की पुल आवश्यक भए पनि अत्यावश्यक नाकामध्ये लोचाखोलालाई प्राथमिकतामा राखेर काम अघि बढाएका छौँ । यहाँ ठाडो र लामो शीर भएको खोला भएकाले आवतजावतमा धेरै समस्या थियो । यो समस्या समाधान गर्न बजेट विनियोजन गरेर पुल निर्माणको काम सुरु गरिएको छ”, उहाँले भन्नुभयो, “समयमै गुणस्तरीय काम गरेर पुल निर्माणको काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको छु । स्थानीय तहका जनप्रतिनिधिहरूलाई पनि प्रभावकारी अनुगमन गर्न अनुरोध गर्दछु । यो पुल सञ्चालनमा आएपछि ठूलो उपलब्धि हुनेछ ।”

निर्माण व्यवसायी बुद्धिबहादुर मगरले पुल निर्माण कार्य निर्धारित समयभन्दा अगाडि नै सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ । “खोलामा धेरै अवरोध छैन । निर्माण कार्य सहज हुने देखिएको छ । म आफै निर्माणस्थलमा बसेर काम गर्ने र समयमै काम सम्पन्न गरेर जिम्मा लगाउने योजनामा छु”, उहाँले भन्नुभयो, “पुलका लागि आवश्यक निर्माण सामग्री ल्याइसकिएको छ । अब तीव्रगतिमा निर्माणको काम अघि बढ्छ ।”

लोचाखोलाले हरेक वर्ष स्थानीयलाई बगाएर घाइते तथा केही व्यक्तिको ज्यानसमेत लिइसकेको छ । हरेक वर्षामा सवारी साधन वारपार गर्नका लागि श्रमदानमार्फत काठको पुल पनि निर्माण गनुपर्ने बाध्यता रहेको लोचाखोला पुल निर्माण भइसकेपश्चात सबै समस्या अन्त्य हुने स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार ००:००  १ : ४७ बजे