खोटाङ। खोटाङको बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुबलराज राई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । २०७९ को स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षमा निर्वाचित भएका राई फागुन १५ गते श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।
उपाध्यक्ष राई तत्कालिन नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य एवं जिल्ला कमिटि सचिवालय सदस्यको भूमिकामा थिए । तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्यूनिष्ट पार्टीको पक्षमा उभिएका राई अन्ततः श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।
राईसँगै एमालेको बराहपोखरी गाउँपालिका–४ फाक्टाङ वडा कमिटि अध्यक्ष गम्भिरजङ राई, एमाले बराहपोखरी गाउँपालिका कमिटि सदस्य प्रेमबहादुर राई, कांग्रेसको बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका वडा कमिटि सदस्य छत्रबहादुर राई, एमाले साउनेचौंर वडा कमिटि सदस्य राजु मगर र एमाले फाक्टाङ वडा कमिटि सदस्य बमहादुर राई प्रवेश गरेको श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईले बताए ।
नवप्रवेसीलाई श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष राई, श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई र नेता निर्मल राईले स्वागत गरेका थिए ।


