खोटाङ, १४ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषित भएको छ । नगरपालिकाभित्रका जन्मेदेखि १५ महिना उमेर समूहका ७६९ जना बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्ष उमेर समूहका दुई हजार १०१ जना बालबालिकाले पूर्णखोप लगाएको पाइएपछि आज (बुधबार) नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको हो ।
नगरपालिकाको सभाहलमा आयोजित पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणासभामा जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेशकुमार तामाङले नियमित खोप लगाउने वडा नं. १० पाथेकाका जेनिस विश्वकर्मालाई पूर्णखोप लगाएको खोपकार्ड तथा सम्मानपत्र प्रदान गर्दै कार्यक्रमलाई औपचारिकरुपमा उद्घाटन गर्नुभएको थियो । नगर खोप समन्वय समितिका अध्यक्ष एवम् नगरप्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख तामाङले नगरपालिकाभित्रका १५ वटै वडा कार्यालयलाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्रसमेत प्रदान गर्नुभएको छ ।
पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणासभालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै उपप्रमुख तामाङले कार्यक्रम सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । “बालबालिकाको स्वास्थ्यमा सरकारले ठूलो लगानी गरेको छ । बालबालिकाका लागि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको खोप करोडौँ रकम खर्च गर्दा पनि पाउन सकिन्न”, उहाँले भन्नुभयो, “आफ्नो बालबच्चालाई स्वस्थ बनाउने पहिलो जिम्मा आमाबुबाको हो । यसमा सरकारले पनि सहयोग गरेको छ । निःशुल्क खोप कार्यक्रममा सहभागी भएको खण्डमा कोही पनि अस्वस्थ हुने छैन । त्यसैले नेपाल सरकारले लागू गरेको निःशुल्क खोप कार्यक्रमलाई सफल बनाउँदै स्वस्थ समाज बनाउने अभियानमा सबैको सहकार्य आवश्यक छ ।”
पूर्णखोप सुनिश्चितता घोषणासभामा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, स्वास्थ्यकर्मी लगायतले दिगोपनाका लागि तयार पारिएको प्रतिवद्धतापत्रमा हस्ताक्षरसमेत गरेका छन् । पूर्णखोप सुनिश्चितता लागि सर्वेक्षण गर्दा विभिन्न वडाका पाँचजना बालबालिकाले शुरुमा खोप लगाएपनि बीचमा छुटाएको पाइएकाले उनीहरुलाई पनि छुटेका सबै खोप उपलब्ध गराइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिनुभएको छ ।
जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (पन्ध्र वडा रहेको) यस नगरपालिकामा ४५ वटा खोप केन्द्र निर्धारण गरेर नियमित खोप उपलब्ध गराउने गरिएको जनाइएको छ । चालु आर्थिक वर्ष सञ्चालन गरिएको पाठेघरको क्यान्सरविरुद्धको एच.पि.भि. खोप अभियानमा नगरपालिकाभित्रका दुई हजार ३१७ जना किशोरीलाई खोप उपलब्ध गराइएको समेत स्वास्थ्य शाखा प्रमुख आचार्यले जानकारी दिनुभएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा रावाबेँसी र जन्तेढुङ्गा गाउँपालिका यसअघि नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित भइसकेका छन् । यही जेठ–१६ गते दिप्रुङ चुइचुम्मा र जेठ–२६ खोटेहाङ गाउँपालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणासभा राखिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ ।
ऐसेलुखर्क गाउँपालिकाले वडा घोषणा गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि पत्र पठाएको स्वास्थ्य कार्यालय खोटाङका क्षयकुष्ठ सुपरभाइजर निरीक्षक सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभएको छ । नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
आगामी असार–१५ गतेभित्र पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने तयारी गरिएको जिल्ला खोप समन्वय समिति खोटाङका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिनुभएको छ । खोप कार्यक्रमबाट कोही वञ्चित भन्ने उद्देश्यले ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप निश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ नेपाल सरकारले खोप कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याएको हो ।

