खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्म फलेका किवी पाकिसकेका छन् । विसं. २०७० सालबाट किवीको व्यवसायिक खेती शुरु गर्नुभएका राई जिल्लाकै पहिलो किवी कृषक हुनुहुन्छ ।
शुरुका वर्षहरुमा प्रति केजी रु ४०० सम्मले किवी बिक्री गर्नुभएका राईले यस वर्ष पाकिसक्दा पनि बोटबाट टिप्नुभएको छैन । राईको फार्ममा यस वर्ष करिब चार हजार किवी उत्पादन भएको जनाइएको छ ।
विशेषगरी किवीका बिरुवा (बेर्ना) उत्पादन गर्दै आउनुभएका राईले गत वर्ष रु १४ लाख बढीको बिरुवा बिक्री गर्नुएको थियो । करिब २५ रोपनी खोतीयोग्य जमिनमा किवी खेती गर्नुभएका राईले यस वर्ष बिक्री हुने सम्भवना नभएपछि वाइन, हुस्की, जुस लगायतका पेयपदार्थ बनाउने तयारी गर्नुभएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका दोर्जी शेर्पाले करिब ६० रोपनी जमिनमा किवी खेती गर्नुभएको छ । एघार वर्षअघि व्यवसायिकरुपमा किवी खेती शुरु गर्नुभएका शेर्पाको फार्ममा यस वर्ष ११ हजार केजीभन्दा बढी किवी फलेको छ ।
शेर्पाले उत्पादन गर्नुभएको किवी दिक्तेलबजार, त्रिधार्मिकस्थल हलेसी, धरान, विराटनगर, काठमाडौँ लगायतका ठाउँहरुमा बिक्रीका लागि पु¥याउने गरिएको छ । जिल्लाका स्थानीय हाटबजार तथा पसलहरुमा प्रतिकेही रु १०० देखि रु १५० सम्ममा किवी बिक्री भइरहेको व्यापारीहरुले बताएका छन् ।
बिगत वर्षहरुमा फार्मबाटै बिक्री भएको किवी यस वर्ष आफैले ढुवानी खर्च व्यहोरेर बिक्रीका लागि बजार पठाउने गरेको शेर्पाले बताउनुभयो । “मेरो फार्ममा ३७५ वटा बयस्क बोट छ । एउटै बोटमा १५० केजीसम्म फलेको छ । दुईवटा बोटको मात्रै टिपेर बिक्री गरिरहेको छु”, उहाँले भन्नुभयो, “यो वर्ष सबै बोटको किवी बिक्री हुने सम्भावना कम छ । गत वर्षहरुमा बिक्री गरिएको ठाउँहरु (धरान, विराटनगर, काठमाडौँ लगायत)मा सम्पर्क गरिरहेको छु । उनीहरुले पनि बजार छैन भन्दै आएका छन् । यदि, दाना बिक्री नभएको खण्डमा वाइन, जुस र माडा बिक्री गर्र्छु ।”
भारतीय सेनाका पेन्सनर शेर्पाले किवी फार्म हेरचाह गर्नका लागि दुईजना निम्न आर्थिक अवस्थाका स्थानीयवासीलाई बस्न र खानसँगै मासिक रु आठ÷आठ हजारका दरले रोजगारीसमेत दिनुभएको छ । फार्ममा उत्पादित किवी बिक्री नहुने सम्भावना बढेपछि शेर्पा चिन्तित हुनुभएको छ ।
किवी उत्पादनमा वृद्धि भए पनि प्रशोधन केन्द्र नहुँदा किसानले चाहेजस्तो आम्दानी गर्न नसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित शुभ कृषि फार्मका सञ्चालक शुभचन्द्र राईले बताउनुभयो । किवीलाई लामो समयसम्म राख्न नसकिने भएकाले त्यसलाई प्रशोधन गरेर जुस, जाम, वाइन लगायतका परिकार बनाएर उपभोक्तासम्म पु¥याउने गरिएको राईले जानकारी दिनुभयो ।
फलफूल खेती गर्ने किसानमा प्रशोधन उद्योग सञ्चालन गर्नका लागि लगानी गर्ने क्षमता नभएकाले स्थानीय सरकारले ध्यान दिनुपर्ने राईले बताउनुभयो । “किवी उत्पादन त मनग्य नै भएको छ । यसलाई प्रशोधन गरेर बजारसम्म पु¥याउन पाए मूल्य पनि पाउँथ्यो । उत्पादन भएको किवी पनि खेर जाँदैनथ्यो”, उहाँले भन्नुभयो, “प्रशोधन केन्द्र सञ्चालन गर्नका लागि लगानी गर्ने पैसा किसानसँग हुँदैन । स्थानीय सरकारले बुझ्नु पर्छ । यदि यसो नगरिएको खण्डमा किसान डुब्नेवाला छ ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्रै गत वर्ष १५ मेट्रिकटन उत्पादन भएकोमा यो वर्ष बढेर ४० मेट्रिकटनभन्दा बढी उत्पादन भएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो । गत वर्ष १५ मेट्रिकटन मात्र उत्पादन भए पनि यो वर्ष भने बोट बयस्क हुँदै गएपछि उत्पादनमा वृद्धि भएको हो ।
नगरपालिकाको सात हेक्टर खेतीयोग्य जमिनमा व्यवसायिक किवी खेती रहेको कृषि शाखा प्रमुख जैसीले जानकारी दिनुभयो । “किवी उत्पादन बर्सेनि बढ्दै जाने फल हो । जति बयस्क हुन्छ उतिनै उत्पादन पनि बढ्दै जान्छ । त्यही भएर यो वर्ष उत्पादनमा वृद्धि भएको हो”, उहाँले भन्नुभयो, “गत वर्ष दश मेट्रिकटन किवी किसानले बिक्री गरेका थिए । प्रति केजी रु १६० का दरले हिसाब गर्दा रु १६ लाख हुन आउँछ । यो वर्ष पनि रु १५० कै दरले हिसाब गर्दा ४० मेट्रिकटनको रु ६० लाख हुन्छ ।”
पन्ध्र वडा रहेको यो नगरपालिकामा थप ३५ हेक्टर खेतीयोग्य जमिनमा १५ हजार किवीको बिरुवा रोपिएको जनाइएको छ । यसमध्ये नगरपालिकाले सात हजार र जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन परियोजनाले आठ हजार बिरुवा कृषकलाई निःशुल्क वितरण गरेको छ ।
फलफूल खेतीबाटै नगरवासीको समृद्धि हासिल गर्ने लक्ष्य लिइएकाले उत्पादन, प्रशोधन र बजारीकरणलाई जोड दिइएको नगर उपप्रमुख विशन राईले बताउनुभयो । “किवी लगायतका फलफूल प्रशोधन गर्न नगरपालिकाकै वडा नं ६ नेर्पाको तालखर्कमा रु एक करोडभन्दा बढीको प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । अब छिट्टै सञ्चालनमा आउँछ”, उहाँले भन्नुभयो, “आफूले उत्पादन गरेको फलफूल बिक्री भएन भनेर चिन्ता लिनुपर्दैन । यसको जिम्मा नगरपालिकाले लिन्छ ।”
दश स्थानीय तह रहेको जिल्लाका अधिकांश लेकाली भेगमा बसोवास गर्ने कृषकले पछिल्लो समय व्यवसायिक किवी खेती शुरु गरेका छन् । एउटै बोटबाट निरन्तर ५० वर्षसम्म उत्पादन दिने किवीको व्यवसायिक खेती शुरु गरेका कृषकहरु आफूले उत्पादन गरेका किवी बिक्री हुने छाडेपछि चिन्तित बनेका छन् ।