खोटाङ । कोशी प्रदेश सरकारले पक्की पुलको छेउछाउ निर्माण भएका झोलुंगे पुल सार्ने तयारी गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले पक्की पुल आसपासमा रहेका प्रयोगविहीन झोलुङ्गे पुल सार्ने निर्णय गरेको हो ।
पहाडी क्षेत्रमा पक्की पुल आसपासका झोलुंगे पुल प्रयोगविहीन अवस्थामा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । प्रयोगविहीन अवस्थामा रहेका झोलुंगे पुललाई आवश्यकता अनुसार अन्यन्त्र सार्ने निर्णय भएको कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले बताउनुभयो ।
‘पहाडी क्षेत्रका धेरै ठाउँमा पक्की पुलकै आसपास झोलुंगे पुल छन् । तर, त्यस्ता पुल प्रयोगविहीन छन्,’ मन्त्री राईले भन्नुभयो,‘ पहिलो चरणमा तथ्याङ्क सङ्कलन गरेर आवश्यकता अनुसार पुल स्थानान्तरण गर्छौं ।’
झोलुंगे पुल स्थानान्तरण गर्दा स्थानीय सरकारसँगको सहकार्य गरिनेछ । मन्त्रालयले सार्नुपर्ने अवस्थाका पुलको विवरण पनि माग गरेको छ ।
पहाडी क्षेत्रमा पहिले झोलुंगे पुल निर्माण भएका थिए । पछि सडक विस्तार भएपछि पक्की पुल निर्माण भयो । यातायातका लागि पक्की पुल बनेपछि यस्ता झोलुंगे पुल पुल प्रयोगमा छैनन् ।
पुल स्थानान्तरणका लागि सरकारले बजेट व्यवस्थापन गर्ने मन्त्री राईले जानकारीदिनुभयो ।