खोटाङ। मोटरसाईकल दुर्घटनामा परेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ५५ वर्षीय पदमबहादुर खड्काको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवा सडकखण्डको सोल्मामा मोटरसाईकल दुर्घटना हुँदा गम्भीर घाइते बन्नुभएका खड्काको उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाईकलको पछाडि बस्नुभएका खड्का गम्भीर घाइते भएको र तत्कालै उद्दार गरि उपचारकाका लागि जिल्ला अस्पताल ल्याएको केही समयपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही नगरको वडा नम्बर– ७ बस्ने ३० वर्षीय दिनेश आचार्यले चलाउनुभएको प्र.१०५००१ प १७६४ नम्बरको मोटरसाइकल शुक्रबार साँझ सडकबाट करिब ५५ मिटर तल झरेर दुर्घटना भएको हो ।
मोटरसाईकल चालक आचार्य भने सकुशल रहेको र दुर्घटना पश्चात् आफैले प्रहरीलाई खबर गरेको जनाइएको छ । खड्काको मृत्युपछि चालक र मोटरसाईकललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभएको छ ।

