खोटाङ । नेकपा एमालेको आशन्न ११ औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बन्नका लागि खोटाङमा ६५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जिल्लाबाट छनौट हुने १० जना महाधिवेशन प्रतिनिधिका लागि ६५ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
पाँच जना खुल्ला प्रतिनिधिका लागि ४१ जना, ३ जना महिलाका लागि ९ जना, १ जना युवाका लागि ११ जना र १ जना दलितका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको नेकपा एमाले खोटाङका अध्यक्ष देवबिक्रम राईले बताउनुभएको छ । प्रतिनिधि छनौटका लागि उम्मेदवारी दर्ता भएपनि सहमतिमै प्रतिनिधि छनौट हुने अध्यक्ष राईको भनाई छ ।
प्रतिनिधिका लागि उम्मेदवारी दिने उम्मेदवारलाई शुक्रबार एमाले जिल्ला कमिटी खोटाङको कार्यालयमा छलफलका लागि बोलाएका छौं । अध्यक्ष राईले भन्नुभयो, “त्यो छलफलबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनौट गछौं।´´
एमाले खोटाङको इतिहासलाई फर्केर हेर्दा अहिलेसम्म कुनै महाधिवेशनमा प्रतिनिधि छनौट गर्दा निर्वाचन भएको छैन् र यो पटक पनि प्रतिनिधि छनौट सर्वसम्मत रुपमा हुने एमाले पोलिटब्यूरो सदस्य एवम् जिल्ला इन्चार्ज विशाल भट्टराईले बताउनुभएको छ ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारा सहित काठमाडौंमा यहीँ मंसिर २७ देखि २९ सम्म एमालेको महाधिवेशन हुँदैछ ।

