खोटाङ, १७ जेठ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली जनताको पहिचान, पहुँच र प्रतिनिधित्वको पक्षमा आफू रहेको बताउनुभएको छ । किरात समुदायको उद्गमस्थल खोटाङको तुवाचुङ–जायजुममा शनिबार आयोजित बृहत् साकेला प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता कोइरालाले यस्तो बताउनुभएको हो ।
तुवाचुङ–जायजुम संरक्षण समितिले आयोजना गरेको बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै नेता कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू पनि किरात समुदायसँगै रहेको बताउनुभयो । “नेपाली काँग्रेसले सँधै द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने गर्छ । संविधानसभाबाट संविधान बन्ने समयमा मैले पहिचान, समावेशी र समानुपातिक प्रतिनिधित्वको कुरा उठाएको थिएँ । अहिले संविधानमा यी विषयहरु समेटिएका छन्”, उहाँले भन्नुभयो, “सबै जाति, धर्म र सँस्कारको समान अधिकार हुनुपर्छ । एकले अर्कालाई सम्मान गर्न सकेको खण्डमा मात्र सभ्य समाज निर्माण गर्न सकिन्छ ।“
नेता कोइरालाले किरात समुदायको उद्गमस्थल तुवाचुङ–जायजुमको प्रवद्र्धनमा आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । “ऐतिहासिकस्थलको प्रवद्र्धन गर्दा ऐतिहासिकतालाई मास्नु हुँदैन । तुवाचुङ–जायजुमको विकास गर्दा पनि भू–गर्भविद्हरुको सुझाव लिनुपर्ने हुन्छ । यसमा मेरोतर्फबाट गर्नुपर्ने सहयोग जुनसुकै बेला पनि उपलब्ध हुन्छ”, उहाँले भन्नुभयो, “तुवाचुङ–जायजुम रमणीयस्थलमा रहेछ । यसको स्तरोन्नति गर्न सकेमा पर्यटन प्रवद्र्धन हुन्छ । यसतर्फ ध्यान दिन जरुरी छ ।”
त्रिधार्मिकस्थल हलेसी दर्शनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता कोइरालाले हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आफूले सक्दो पहल गर्ने आश्वासनसमेत दिनुभएको छ । “हलेसी पहिलेको हलेसीजस्तो छैन । यसको चौतर्फी विकास भइसकेको छ”, उहाँले भन्नुभयो, “हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल संसारमा कँही कतै छैन । यसको प्रवद्र्धन गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक छ । यसका लागि मेरोतर्फबाट गर्नुपर्ने सबै सहयोग उपलब्ध हुन्छ ।”
एक अर्को प्रशङ्गमा पत्रकारहरुले राखेको प्रश्नमा सम्बोधन गर्नुहुँदै नेता कोइरालाले वर्तमान गठबन्धन सरकारलाई असफल हुने छुट नरहेको बताउनुभएको छ । “वर्तमान सरकार जसरी सञ्चालन हुनुपथ्र्यो त्यस्तो भएको छैन । तर, यसलाई फालेर अर्को सरकार गठन गर्ने स्थिति पनि छैन । त्यसैले यो सरकारलाई असफल हुने छुट छैन”, उहाँले भन्नुभयो, “सुशासन, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह, रोजगारी सिर्जना तथा आर्थिक सुधारमा ध्यान दिनुपर्छ । जनताको अपेक्षा अनुसार सुदृढ हुन जरुरी छ ।”
भिजिट भिसा प्रकरणमा बिबादमा रहनुभएका गृहमन्त्री रमेश लेखकप्रति लक्षित गर्नुहुँदै नेता कोइरालाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा गरेर मार्ग प्रसस्त गर्नुपर्ने बताउनुभएको छ । “गृहमन्त्री रमेश लेखकजीले कर्मचारीलाई दोष लगाएर आफू पञ्छिन पाउनुहुन्न । उहाँले सम्हाल्नुभएको मन्त्रालयको कुरा उठेको छ”, उहाँले भन्नुभयो, “हामी राजनीति गर्ने नेताहरुले सँस्कार बसाउनुपर्छ । नैतिकरुपमा पतन भएको मान्छेले केही गर्न सकिदैन । त्यसैले राजीनामा गरेर छानबिनमा सघाउन उपयुक्त हुन्छ ।”
जिल्लास्थित काँग्रेसका नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रियासमेत गर्नुभएका नेता कोइरालाले नेपाली काँग्रेसले सरकारको नेतृत्व नगरेसम्म देश अगाडि बढ्न नसक्ने बताउनुभएको छ । “हाम्रो देशमा वामपन्थी, दक्षिणपन्थी र मध्यमार्गी पार्टी नेपाली काँग्रेस छन् । अहिले मध्यमार्गी पार्टी कमजोर जस्तो देखिएको छ । यसको फाइदा दक्षिणपन्थीहरुले उठाउन खोजिरहेका छन्”, उहाँले भन्नुभयो, “हाम्रा नेताहरुको कमजोरीका कारण दक्षिणपन्थीहरुले विभिन्न क्रियाकलाप गरिरहेका छन् । उनीहरुको यो प्रयास कुनै पनि हालतमा सफल हुँदैन । अब प्राप्त उपलब्धिहरुको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न देशको नेतृत्व काँग्रेसले लिनुपर्छ ।”
नेता कोइरालाले नेपाली काँग्रेसको आसन्न १५ औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिरभित्रै सम्पन्न गराउन आफूहरु लागिपरेको पनि बताउनुभएको छ । हेलिकोप्टरमार्फत खोटाङ आउनुभएका नेता कोईरालासँग काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वपर्यटनमन्त्री बलबहादुर केसीसमेत आउनुभएको थियो ।

