खोटाङ, १७ जेठ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । गाउँपालिकाभित्रका ०- १५ महिना उमेर समूहका २४१ जना बालबालिकाले नियमित तथा १६-५९ महिना उमेर समुहको २१९ जना र अन्य ७ जना गरि जम्मा ६१२ जनाले पूर्ण खोप लगाइएको पाईएपछि गाउँपालिकालाई शुक्रबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
गाउँपालिकाको कार्यालय याङसोलाटारमा आयोजित पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणासभामा जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेशकुमार तामाङले कार्यक्रमलाई औपचारिकरुपमा उद्घाटन गरेका थिए । पालिका खोप समन्वय समितिका अध्यक्ष एवम् पालिका प्रमुख लोकेन्द्र राईको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख तामाङले गाउँपालिका भित्रका सात वटै वडाका स्वास्थ्य चौकीलाई प्रसंशापत्र र समन्वय समिति र स्वास्थ्य कार्यालयलाई कदर पत्र प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक मुस्ताक अहमत मन्सुरीले बताए ।
पूर्णखोप सुनिश्चितता घोषणासभामा जनप्रतिनिधि, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन प्रसाद चौलागाईं ,महिला स्वास्थ्यसेवम सेविका, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि स्वास्थ्यकर्मी लगायतले दिगोपनाका लागि तयार पारिएको प्रतिवद्धतापत्रमा हस्ताक्षरसमेत गरेका छन् ।नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
यस्तै, सोही कार्यक्रमको अबसर पारेर गाउँपालिकामा आयोजित हेल्लो डाक्टर कार्यक्रमको टोल फ्रि नः शुभारम्भ गरेको छ । जिल्लाको दश स्थानीय तहमध्ये दिप्रुङ चुईचुम्मा गाउँपालिकाले मात्र हेल्लो डाक्टर कार्यक्रम अगाडि बढाएको छ ।स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका आकस्मिक रूपमा बिरामी वा दुर्घटनामा परेका गाउँपालिका क्षेत्र भित्रका नागरिकलाई फोन सम्पर्कको माध्यमबाट स्वास्थ्यकर्मिहरुद्वारा घर वा घट्नास्थलमा परामर्श, आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले हेल्लो डाक्टर कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को भदौ १ गतेबाट सुरु भएको ‘हेल्लो डाक्टर’ कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नका लागि ७ वटै वडाका नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै ४ जना अहेब हेल्लो डाक्टरको टिममा राखिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको नागरिकलाई आपतकालीन अवस्थामा सरल तरिकाबाट थप प्रभावकारी बनाउनको लागि पैसा नलाग्ने टोल फ्रि नः १८१०५०००४५५ शुभाराम्भ गरिएको हेल्लो डाक्टर कार्यक्रमका अहेव सुरेश प्रधानले जानकारी दिए । यस आर्थिक बर्षमा पालिका भरिको उपचारका लागि आएका दुई हजार सात सय १० जना बिरामीमध्ये ७८ जनालाई अन्यत्र रेफर गरिएको तथ्यांक सार्वजनिक गरिएको छ ।

