खोटाङ, १३ वैशाख । केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष पहिले बुबा गुमाउनुभएको थियो । आफू १२ वर्षको कलिलो उमेरका छँदा नै बुबा गुमाउनभएका छितिजकी आमा (४५ वर्षीया) शारदा राई शारीरिक तथा मानसिक दुवै रोगी हुनुहुन्छ ।
बुबाको अप्राकृति मृत्यु (झुन्डिएर आत्महत्या)पछि आमा र तीनजना नाबालक भाइबहिनीको हेरचाह गर्ने जिम्मेवारी छितिजको काँधमा आइपरेको छ । ठुली बहिनी दीपा राई कक्षा–७, निशा कक्षा–५ र कान्छा भाइ मुस्कान कक्षा–३ मा अध्ययनरत छन् ।
भाइबहिनीको पठनपाठनसँगै आफूसमेत कक्षा–१० मा अध्ययनरत छितिजको घर गत असार–९ गतेबाट शुरु भएको भारी वर्षासँगै आएको पहिरोले पु¥यो । सुङ्देलस्थित भीरखर्कमा रहेको घर तथा घरमा भएका सम्पूर्ण सामग्री पहिरोमा पुरिएपछि छितिज पाँचजनाको परिवार आफन्तकामा आश्रय लिएर बस्दै आएका थिए ।
पहिरोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमेपछि बिचल्लीमा परेका छितिजको परिवारलाई स्थानीयले चन्दा सङ्कलन गरेर निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ । स्थानीय देवानसिं कोयी राईले खाजु भन्ने ठाउँमा निःशुल्क उपलब्ध गराउनुभएको एक रोपनी १३ आना जग्गामा करिब रु नौँ लाख खर्चेर निर्माण गरिएको ढुङ्गामाटोको गाह्रो तथा जस्तापाताको छाना भएको दुईतले घर शुक्रबार औपचारिक रुपमा छितिजको परिवारलाई हस्तान्तरण गरिएको हो ।
देश तथा विदेशमा रहेका आफन्तबाट सङ्कलन गरिएको चन्दा तथा श्रमदानबाट निर्माण गरिएको घर गाउँपालिका प्रमुख समिर राईको उपस्थितिमा छितिजको परिवारलाई हस्तान्तरण गरिएको संयोजनकर्ता एवम् सूर्य माध्यमिक विद्यालयका प्रधानाध्यापक ललितचन्द्र कोयी राईले जानकारी दिनुभएको छ । “पहिरोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री पुरेपछि बिचल्लीमा परेका छितिजको परिवार आफन्तकामा आश्रय लिएर बसिरहेका थिए । उनीहरुका लागि गाउँपालिका, हङकङ र बेलायतमा सङ्कलन गरिएको चन्दाबाट घर निर्माण गरिदिएका हौँ”, उहाँले भन्नुभयो, “यो अभियान सफल पार्नका लागि सबैको साथ र सहयोग महत्वपूर्ण रह्यो । अभियानमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद ! छितिजको परिवारलाई उज्ज्वल भविष्यको कामना व्यक्त गर्दछु ।”
पहिरोपीडित छितिजको परिवारका लागि घर निर्माण गर्न कोयी राई समाज खोटाङको संयोजनमा सञ्चालन गरिएको चन्दा सङ्कलन अभियानमा हङकङबाट हितबहादुर कोयी राईको पहलमा रु तीन लाख ५० हजार, बेलायत (युके)बाट कृतबहादुर कोयी राईको पहलमा रु एक लाख ५० हजार र केपिलासगढी गाउँपालिकाले रु एक लाख ५० हजार उपलब्ध गराएको जनाइएको छ । घर निर्माणमा नगद र श्रमदानगरी रु नौँ लाख बढी खर्च भएको छितिजको घर निर्माण अभियानमा आर्थिक व्यवस्थापनको जिम्मा लिनुभएका स्थानीयवासी एवम् सूर्य माध्यमिक विद्यालय सुङ्देलका शिक्षक भूपिन्द्र कोयी राई (बि)ले जानकारी दिनुभएको छ ।
घर हस्तान्तरणपछि गाउँपालिका प्रमुख राईले छितिजको परिवारलाई गाउँपालिकाको तर्फबाट उपलब्ध हुने सुविधालाई निरन्तरता दिने स्टाटसमार्फत प्रतिबद्धता जनाउनुभएको छ । “आजदेखि तिमी तिम्रो परिवारसहित आफ्नो घरमा सरेका छौ । बाँकी जीवन उन्नति, प्रगति र परिवारको जिम्मेवारी समालेर बस्ने छौ । पूर्णरुपमा विश्वास लिएको छु । तिम्रो साथमा सँधै स्थानीय सरकार रहने पनि प्रतिबद्धता व्यक्त गर्दछु ।” गाउँपालिका प्रमुख राईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखिएको छ, “तिमीले सानो उमेरमा बाबा गुमायौ, आमाको अवस्था कम्जोर छ । कलिलो भाइबहिनीको जिम्मेवारी तिम्रो काँधमा छ । आफ्नो विद्यालयको पढाइ, त्यहिबेला प्राकृति प्रकोपले तिमीलाई सतायो । तर, पनि विचलित नभै समस्यासँग पाँैठेजोरी खेलिरह्यौ । तिम्रो साहसलाई म सेलुट गर्छु ।”्
पहिरोपीडित छितिजको परिवारलाई गाउँपालिकाले घर निर्माणका लागि नगदसँगै खानाको लागि दाल, चामल र पठनपाठनका लागि शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको जनाइएको छ । प्राकृतिक प्रकोपमा परेर पीडित बनेका छितिज राईको परिवारलाई सबैको साथ, सहयोग र मायाले पुनः स्थापित हुन सहज भएको सुङ्देलका वडाध्यक्ष तेजकुमार राईले बताउनुभएको छ ।

