२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लमजुङमा चाडपर्वलक्षित बजार अनुगमन



लमजुङमा बजार अनुगमनलाई तीव्रता

दसैँ नजिकिँदै गर्दा लमजुङमा बजार अनुगमनलाई तीव्रता दिइएको छ। दसैँ–तिहारमा हुन सक्ने कृत्रिम अभाव, म्याद गुज्रेका अखाद्य वस्तु र अस्वाभाविक मूल्यवृद्धिलाई नियन्त्रण गर्न बजार अनुगमन गरिएको हो। 

जिल्ला प्रशासन कार्यालय लमजुङको नेतृत्व र पर्यटन तथा उद्योग कार्यालय लमजुङको संयोजनमा बजार अनुगमन समितिले जिल्लाको बेँसीसहरसहित पालिकाको मुख्य बजार अनुगमनलाई तीव्रता दिएको हो। दसैँ, तिहार, छठलगायतका चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएको समितिले बेँसीसहर बजारका खाद्यान्न, माछामासु, तरकारी, फलफूललगायतका थोक तथा खुद्रा पसलहरूमा अनुगमन गरेको छ।

बेँसीसहर– ७ मनङे चौताराबाट पुरानो बैंक चोक हुँदै भीमसेनस्थानसम्मका ३८ वटा किराना, फलफूल तथा तरकारी पसल, फ्रेस हाउसहरूमा अनुगमन गरिएको हो। चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तु बेच्नेलगायतका समस्या देखिने गरेकाले चाडपर्वलक्षित बजार अनुगमनलाई प्राथमिकता दिइएको अनुगमन समितिले जनाएको छ।

अनुगमनको क्रममा मापदण्डविपरीत सञ्चालित तीनवटा पसललाई जरिवाना गरिएको छ। समितिले लामो समयसम्म पनि पसल दर्ता नगरेका, म्याद गुज्रेका तथा गुणस्तरहीन वस्तु बिक्री–वितरण गर्ने व्यापारीलाई न्यूनतम पाँच हजारका दरले जरिवाना गरेको जनाएको छ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार ००:००  ४ : ४२ बजे