खोटाङ । जिल्लाको साकेला गाउँपालिकाले शारीरिक रुपमा अशक्त भई बैङ्कसम्म पुगेर सामाजिक सुरक्षाभत्ता बुझ्न नसक्ने अवस्थाका लाभग्राहीको सहजताका लागि घरदैलो अभियान सञ्चालन गरेको छ । गाउँपालिकाभित्र रहेका ९० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा (क) वर्गको अपाङ्गता भएका लाभग्राहीलाई उनीहरुकै घरदैलोमा पुगेर सेवा उपलब्ध गराउन सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र नेपाल एसबिआई बैङ्कको संयुक्त आयोजनामा अभियान सञ्चालन गरिएको हो ।
बैङ्क तथा बैङ्कले सञ्चालन गर्ने शिविरहरुमा उपस्थित भएर खाता खोल्न तथा भत्ता रकम बुझ्न नसक्ने लाभग्राहीको घर–घरमै पुगेर बैङ्किङ सेवा प्रवाह गरिएको सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङ राईले जानकारी दिनुभयो । गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त अभियान सञ्चालन गरिएको जनाइएको छ ।
गाउँपालिकाको वडा नं. १ को बाँझेच्यानडाँडा, वडा नं. २ को रतन्छा र वडा नं. ३ को खिदिमाका विभिन्न टोल तथा बस्तीहरुमा पुगेर अशक्त अवस्थाका लाभग्राहीलाई सेवा प्रदान गरिसकिएको गाउँपालिका उपप्रमुख बिर्सिका राईले जानकारी दिनुभयो । बाँकी रहेको वडा नं. ४ र ५ मा पनि अभियान सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ ।
अशक्त अवस्थाका लाभग्राहीको घरमा पुगेर बैङ्क खाता खोल्ने तथा ९० वर्षमाथिका लाभग्राही र अपाङ्ता भएका लाभग्राहीको हकमा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १११ अनुसार हकवाला कायम गरिएको छ । उक्त सेवाबाट विभिन्न टोलका ६० जनाभन्दा बढी लाभग्राहीले सेवा पाएका छन् ।
साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म एक हजार ३०३ जना रहेका गाउँपालिका प्रमुख रविप्रकाश राईले जानकारी दिनुभयो । “अशक्त अवस्थाका नागरिकले पाउने सेवा तथा सुविधा उनीहरुकै घरदैलोमा उपलब्ध गराउन हामी प्रतिबद्ध रहेका छौँ”, उहाँले भन्नुभयो, “आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिने योजना बनाएका छौँ ।”
गाउँपालिकाले सम्पूर्ण लाभग्राहीको सुविधाका लागि प्रत्येक वडा वडामा सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविरसमेत सञ्चालन गर्दै आएको छ । जिल्लाको सबैभन्दा सानो (पाँचवटा वडा रहेको) साकेला गाउँपालिकामा यसअघि कर्मचारीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दा ठूलो मात्रामा आर्थिक अनियमितता भएको थियो ।
गाउँपालिकाको केन्द्रमा पर्ने वडा नं.५ मात्तिम ठेगाना उल्लेख भएको तीनजना फूलसरी राईको नाममा वर्षैँदेखि नियमित सामाजिक सुरक्षा भत्ता निकासा गरिएको पाइएको थियो । एउटै नाम, एउटै जन्म मिति, एउटै नागरिकता नम्बर र एउटै ठेगाना राखेर वर्षौँदेखि सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी तीनैजना सो वडामा छैनन् ।
मृत्यु भइसकेका, अन्यत्र बसाइँ सरिसकेका, नक्कली लाभग्राही खडा गरेर, अर्कै वडाको व्यक्तिको नाम राखेर, एकै जनाको एकभन्दा बढी नाम देखाएर सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ । कर्मचारीको लापरबाहीले लाखौँ रकम हिनामिना भएको तथ्य सार्वजनिक भए पनि उनीहरुलाई अहिलेसम्म कारबाही भएको छैन ।
दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण थालेका छन् । तर, जिल्लाका अन्य स्थानीय तहले भने अहिलेसम्म सामाजिक सुरक्षाभत्ता वितरणमा भइरहेको चुहावटबारे कुनै विषय बाहिर ल्याएका छैनन् ।


