उदयपुर । उदयपुरमा एसइइ परीक्षाको प्रश्न पत्र चोरी गराउने एक शिक्षक अनुगमनको क्रममा आज पक्राउ परेका छन् । बेलाका नगरपालिका १ पुरन्दह स्थित जनता मावि पुरन्दह परीक्षा केन्द्रबाट प्रश्नपत्र चोरी गराउने जनता नमुना मावि बेलकाका गणित विषयका शिक्षक ४० वर्षीय सञ्जीव यादव पक्राउ परेका हुन् ।
परीक्षा केन्द्र नजिकै शंकास्पद अवस्थामा देखिएका शिक्षक यादवलाई अनुगमन टोलीले चेकजाँच गर्दा हवाट्स एपमार्फत प्रश्नपत्र चोरी गराउँदै गरेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिनुभयो ।सप्तरीको महादेवा गाउँपालिका ३ घर भएका शिक्षक यादवलाई अनुगमन टोलीले कारबाहीका लागि सिफारिस गरेको छ।
परीक्षा समन्वय समितिका टोलीसहित प्रहरीले पक्राउ गरेको शिक्षक यादवलाई शिक्षा ऐन अन्तर्गत परीक्षाको मर्यादा भङ्ग गरेको अभियोगमा मुद्दा चलाइएको जनाइएको छ। उनको साथबाट एक थान मोबाइल बरामद भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरबाट आजै पाँच दिनको म्यादली कारबाही तथा अनुसन्धान थालिएको जनाइएको छ।


