१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक छेकेर आन्दोलन गर्दा प्रहरीसँग झडप, ११ प्रहरी घाइते



रुपन्देही। बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरमा हुलाकी सडक रोकेर आन्दोलन गरेका स्थानीय र प्रहरीबीच झडप भएको छ । सो झडपमा ३ जना स्थानीयसँगै ११ प्रहरी घाइते भएका छन् ।

भारतीय सीमा क्षेत्रबाट खुलेयाम लागुऔषध भित्रिएर आफ्ना बालबालिका कुलतमा लागेको भन्दै बाटो छेकेर स्थानीयले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको र ११ जना प्रहरीसहित केही स्थानीय घाइते भएको त्यहाँस्थित पत्रकार यज्ञप्रसाद सापकोटाले जानकारी दिए ।

लागुऔषध कारोबारविरुद्ध आक्रोशित स्थानीयले हुलाकी सडक अवरुद्ध गरेपछि सडक खुलाउन पुगेको प्रहरी टोली र स्थानीयबीच विवाद चर्किँदै झडप भएको हो । स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले ९ राउन्ड हवाई फायर र ४ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी प्रमेश विष्टले प्रहरीमाथि लगातार ढुंगा प्रहार भएको बताए । प्रहरीमाथि नै ढुंगा प्रहार हुन थालेपछि बाध्य भएर हवाई फायर र अश्रुग्यास प्रयोग गर्नुपरेको उनले जनाएका छन् ।

घटनास्थलबाट प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । झडपमा प्रहरीका सहायक हवलदार सन्तोष विक गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार पछिल्लो समय भारतबाट भित्रिएको लागुऔषध, विशेषगरी ब्राउन सुगर र कोरेक्सको प्रयोग बढ्दै गएको छ । सोही कारण दुई जनाको ज्यान गएको भन्दै आक्रोशित स्थानीय सडकमा उत्रिएका हुन् ।

स्थानीयले भारतसँग जोडिएको सीमावर्ती नाका लौकही हुँदै हुने लागुऔषध ओसारपसार पूर्ण रूपमा रोक्न माग गरेको तर सडक नै रोकेर आन्दोलन गरेपछि यस्तो अवस्था आएको घटनास्थलमा रहेका पत्रकार सापकोटाले बताए । प्रहरीका अनुसार अहिले स्थिति नियन्त्रणमा आइसकेको जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार ००:००  ३ : १८ बजे