खोटाङ। यही चैत–२ गते राति असिनापानीसँगै चलेको हावाहुरीले खोटाङका विभिन्न स्थानमा बसोवास गर्दै आएका स्थानीयको घर, विद्यालय भवन, स्वास्थ्यचौकी र प्रहरी चौकी लगायतको छाना उडाउँदा लाखौँको क्षति भएको छ । राति करिब ८ः०० बजेबाट सुरु भएको असिनापानीसहितको हावाहुरीले विभिन्न स्थानीय तहमा बसोवास गर्दै आएका व्यक्तिको ६८ वटा घरको जस्तापाता तथा फुसको छाना उडाउँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको जानकारी अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिकामा नौँवटा घरको छाना उडाउँदा रु दश लाख ९० हजार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आठवटा घरको छाना उडाउँदा रु १२ लाख दश हजार तथा एक घरमा भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा चारवटा घरको छाना उडाउँदा रु तीन लाख ५० हजार तथा ३७ वटा घरमा पुगेको क्षतिको यकिन विवरण आउन बाँकी रहेको जनाइएको छ ।
ऐसेलुखर्क गाउँपालिकाको दुईवटा घरको रु दुई लाख तीन हजार तथा चारवटा घरको क्षतिको यकिन विवरण आउन बाँकी रहेको, रावाबेँसी गाउँपालिकामा एक घरको छाना उडाउँदा रु ५० हजार र साकेला गाउँपालिकाको दुईवटा घरको छाना उडाए पनि क्षतिको यकिन विवरण आएको छैन । जिल्लामा हावाहुरीको कारण भएको क्षतिको विवरण सङ्कलन गर्न मातहतका प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पास्थित सिर्जनशील अङ्ग्रेजी प्राथमिक विद्यालयको चारवटा कोठाको टिनको छाना उडाउँदा रु ५० हजार, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित सरस्वती प्राथमिक विद्यालयको ढुङ्गा माटोले बनेको टिनको छाना उडाउँदा रु ४० हजार, ऐसेलुखर्क गाउँपालिका–१ राखास्थित कालिका बाल विकास माध्यमिक विद्यालयको स्टोर कोठाको टिनको छाना उडाउँदा रु एक लाख ५० हजार क्षति भएको जनाइएको छ । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित खमारेमा सञ्चालित देवी आधारभूत विद्यालयको ढुङ्गामाटोले बनेको चार कोठे भवनको टिनको छाना र शौचालयको छाना उडाउँदा रु दुई लाख, सोही वडाको रिखुवास्थित शाप्सु निकेतन प्राथमिक विद्यालय र महेन्द्रोदय आधारभूत विद्यालयको छाना उडाउँदा रु दुई लाख बराबरको क्षति भएको छ ।
साकेला गाउँपालिका–३ खिदिमास्थित ढाडेमा सञ्चालित महेन्द्रोदय आधारभूत विद्यालयको छाना उदाउँदा र विद्युत तथा ईन्टरनेटको तारमा क्षति पुग्दा रु दुई लाख बराबरको क्षति भएको जनाइएको छ । हावाहुरीले सान्तोदय माध्यमिक विद्यालय, पञ्चकन्या आधारभूत विद्यालय, जनज्योति आधारभूत विद्यालय र मानेगाउँ आधारभूत विद्यालयको छाना उडाए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यस्तै, ऐसेलुखर्क गाउँपालिकास्थित स्वास्थ्य चौकी ज्यामिरेको पुरानो भवन र नयाँ भवनका आठवटा सोलार प्यानलमा पूर्ण क्षति भएको छ भने, ईलाका प्रहरी कार्यलय खोटाङ बजारमा खानेपानीको लागि जडान गरिएको पानी फिल्टर लडाउदा करिब रु तीन लाख बराबरको क्षति भएको छ । हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानमा ठूलो भौतिक क्षति भए पनि हालसम्म मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रभावित क्षेत्रमा प्रहरी टोली खटिएर थप विवरण सङ्कलन गर्ने कार्य जारी राखिएको प्रनाउ बुढाथोकीले जानकारी दिनुभएको छ । जिल्लाका धेरै ठाउँमा यातायातका साधन नपुग्दा विवरण सङ्कलनमा ढिलाइ भएको हो ।
हावाहुरीले पाक्न लागेको गहुँबाली, तरकारी तथा फलफूल खेतीमा समेत क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । हावाहुरीले कृषिबालीमा गरेको क्षतिको विवरण सङ्कलन गर्न जिल्लाका दशवटै स्थानीय तहमा प्राविधिक टोली परिचालन गरिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख विशाल मोदीले जानकारी दिनुभएको छ ।


