खोटाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा लागू भएको मौन अवधिको बेवास्ता गर्दै खोटाङमा केही दलका कार्यकर्ताले सामाजिक सञ्जालमार्फत भोट मागेको पाइएको छ। मौन अवधि सुरु भइसकेपछि सामाजिक सञ्जाल फेसबुक, टिकटकको प्रयोग गरी मतदातालाई भोट मागेको पाइएको हो ।
सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न दलका उम्मेदवार निकट कार्यकर्ताहरूले “मतदानमा हाम्रो चुनाव चिन्हमा भोट दिनुहोस्” भन्ने आशयका श्रव्यदृश्य सामाग्रीहरु सार्वजनिक गरेको भेटिएको हो। ती पोस्टहरू मौन अवधि लागू भइसकेपछि अपलोड गरिएको देखिएको छ जसले निर्वाचन आचारसंहिता उल्लंघन भएको आशंका बलियो बनाएको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार अन्तिम समयमा उम्मेदवारहरूले विभिन्न हल्लाहरू पनि चलाउन सक्ने, शुभेच्छुक र शुभचिन्तकहरूले त्यस्ता सामग्रीहरूको दुरुपयोग गर्ने सम्भावना धेरै रहेकोले त्यसतर्फ निगरानी बढाएको बताउनुभएको छ ।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार मौन अवधिमा निर्वाचन आचारसंहिता उलंघन गर्ने जो कोहि कानुन अनुसार सजायको भागिदार हुनुपर्ने बताउनुभयो।
जिल्ला निर्वाचन कार्यालय खोटाङका अनुसार सामाजिक सञ्जालमा गरिएको भोट अपिलको प्रमाण पुष्टि भए सम्बन्धित व्यक्तिसँग स्पष्टीकरण मागिने र कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ ।


