खोटाङ । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खोटाङबाट उम्मेदवारी दिने हुनुभएको छ । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्दे स्थायी घर भएका महासचिव आरेनले आगामी निर्वाचनमा खोटाङबाट उम्मेदवारी दिनेगरी टिकट लिनुभएको जिल्ला अध्यक्ष प्रताप राईले जानकारी दिनुभएको छ ।
मङ्गोल नेशनल अर्गनाइजेशन पार्टी (एमएनओ)का सर्वोच्चसभा सदस्य एवम् आर्थिक विभाग प्रमुख पद परित्याग गरेर श्रम संस्कृति पार्टी निर्माणमा जुटेका महासचिव आरेन आगामी निर्वाचनका लागि खोटाङ टिकट लिएर चुवानी अभियानमा होमिनुभएको छ । वि.सं. २०८० सालमा मङ्गोल नेशनल अर्गनाइजेशन पार्टी परित्याग गर्नुभएका महासचिव आरेन जिल्लामा पहिचानवादी नेताका रुपमा परिचित हुनुहुन्छ ।
वि.सं. २०७४ सालसम्म राष्ट्रवादी केन्द्र नेपाल अभियानका केन्द्रीय सदस्य रहेर सामाजिक अभियानमा खटिनुभएका महासचिव आरेन स्नातक तहका विद्यार्थी हुनुहुन्छ । विभिन्न सङ्घ÷संस्था क्षेत्रमा रहेर सामाजिक काम गर्दै राजनीतिमा आउनुभएका महासचिव आरेन सुम्देका एकराज राई र चन्द्रकला राईको कान्छो सन्तानका रुपमा वि.सं. २०५३ असोज–८ गते जन्मनुभएको हो ।
श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)को गृह जिल्ला खोटाङमा महासचिव आरेनको उम्मेदवारी घोषणालाई निक्कै महत्वका साथ हेरिएको छ । पार्टी स्थापना कालमै जनताको उत्साह देखिएकाले आफूहरुको जित सुनिश्चित बनेको जिल्ला अध्यक्ष राईले बताउनुभएको छ ।
श्रम संस्कृति पार्टीले जिल्लाका दशवटै स्थानीय तह तथा वडामा आफ्नो सङ्गठन विस्तार गरिसकेको जनाइएको छ । श्रम संस्कृति पार्टीले जिल्लामा सङ्गठन विस्तारसँगै श्रमदान अभियानलाई समेत निरन्तरता दिएको छ ।
यसैबीच, श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा पेश गरेको ११० जना समानुपाति उम्मेदवारको सूचीसमेत सार्वजनिक भएको छ । जसमा खोटाङका पाँच जना नेताको नाम समावेश भएको पाइएको छ ।
आदिवासी जनजाति महिला कोटामा पार्टीका जिल्ला उपाध्यक्ष उमा चाम्लिङ राई, चन्द्रकला याखा र समला राई, आदिवासी जनजाति पुरुष कोटामा सीताराम राई तथा दलित महिला कोटामा कोपिला घिमिरे रहनुभएको छ । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा बुझाएको पाँच जना उम्मेदवारमध्ये सीताराम राई तत्कालीन जिल्ला विकास समिति खोटाङका उपसभापति हुनुहुन्छ भने, अन्य चार जना नयाँ अनुहारका छन् ।

