५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरकाजी राई

काँग्रेसबाट खोटाङमा महाधिवेशन प्रतिनिधि वीरकाजी राईलाई उम्मेदवारको टिकट



खोटाङ । नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधि वीरकाजी राईलाई खोटाङमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि टिकट दिएको छ । काँग्रेस खोटाङका पूर्व जिल्ला सचिवसमेत रहनुभएका महाधिवेशन प्रतिनिधि वीरकाजीलाई काँग्रेस केन्द्रीय समितिले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सोमबार टिकट दिएको हो ।

केपिलासगढी गाउँपालिका–१ फेदी निवासी वीरकाजी नेपालमा प्रजातन्त्र बहालीपछि काँग्रेस खोटाङका विभिन्न पदमा रहेर राजनीतिमा सक्रिय हुँदै आउनुभएको छ । साम्पाङ राई जुम्लेखाका केन्द्रीय अध्यक्षसमेत रहनुभएका वीरकाजीलाई काँग्रेस केन्द्रीय समितिले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि टिकट दिएपछि नेता तथा कार्यकर्ताहरुले शुभकामना दिइरहेका छन् ।

वि.सं. २०३१ कातिक–२५ गते फेदीका स्थानीयवासी दलबहादुर र ओमादेवी राईको कोखबाट जन्मनुभएका वीरकाजीले वि.सं. २०५० सालमा एसएलसी उत्तिर्ण गर्नुभएको थियो । दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलबाट मानविकी शङ्कायमा स्नातकसम्मको अध्ययन गर्नुभएका वीरकाजीले वि.सं. २०४७ सालबाट काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गरेर मूलधारको राजनीतिमा आउनुभएको हो ।

वि.सं. २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्यको सामानुपातिक उम्मेदवारसमेत बन्नुभएका वीरकाजी जिल्लामा स्वच्छ छविका नेता मानिनुहुन्छ । राजनीतिमा अहिलेसम्म लाभको पदमा नपुग्नुभएका वीरकाजीले आगामी निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारको टिकट पाउनुभएपछि जिल्लास्थित काँग्रेस नेता तथा कार्यकर्ताहरु उत्साहित बनेका छन् ।

प्रतिनिधिसभातर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा पूरानै दलका उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुने देखिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् । काँग्रेसबाट वीरकाजी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट जिल्ला अध्यक्ष देवबिक्रम राई र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट अर्थ÷राजनीतिक विश्लेषक डा. हरि रोकाले टिकट लिनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (नेपाल)बाट राकेश राई, श्रम संस्कृति पार्टीबाट आरेन राई र राष्ट्रिय परिवर्तन पार्टीबाट निमेश राईले टिकट लिनुभएको छ । आगामी निर्वाचनमा भाग लिने राजनीतिक दलले भोलि माघ–६ गते उम्मेदवारी दर्ता गराउनुपर्ने निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार माघ–६ गते उम्मेदवारको मनोनयन दर्ता, माघ–७ गते उम्मेदवारविरुद्ध उजुरी, माघ–७ गते उम्मेदवारको नामावली प्रकाशन, माघ–९ गते उम्मेदवारले आफ्नो नामावली फिर्ता लिन पाउने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिन्ह प्रदान गर्नेछ । निर्वाचन सफल बनाउन सरकारले निर्वाचन प्रहरीसमेत छनोट गरिरहेको छ ।

आगामी निर्वाचनका लागि जिल्लामा १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ४७ हजार १२० जना मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी रविन मगरले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, सोमबार ००:००  ६ : ३० बजे