खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खोटाङमा रुद्र गिरीलाई प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको टिकट दिएको छ । नेपाली काँग्रेस खोटाङको महाधिवेशन प्रतिनिधिको पद परित्याग गरेर रास्वपा प्रवेश गर्नुभएका गिरीलाई पार्टीले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फको टिकटका लागि जिल्लाबाट तीन जना नेताको नाम सिफारिस गरिएकामा केन्द्रीय समितिले गिरीलाई टिकट दिएको रास्वपा खोटाङका जिल्ला सभापति मुकुन्दकृष्ण थापाले जानकारी दिनुभएको छ । रास्वपा खोटाङले प्रतिनिधिसभा सदस्यका लागि गिरीसहित जीवन कान्छा किराती र रविन्द्र ओझाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको थियो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका निवासी रास्वपाका उम्मेदवार गिरी गत पुस–१५ गते पार्टी केन्द्रीय कार्यालय गएर रास्वपा प्रवेश गर्नुभएको थियो । आफ्नो पूरानो पार्टी काँग्रेसले देश र जनताको पक्षमा काम गर्न नसक्ने भएकाले आफूसँगै कार्यकर्ता लिएर रास्वपा प्रवेश गरेको गिरीले बताउनुभएको थियो ।
उद्योग वाणिज्य सङ्घ खोटाङका पूर्वअध्यक्षसमेत रहनुभएका रास्वपाका उम्मेदवार गिरी केही वर्षअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरेर काँग्रेस प्रवेश गर्नुभएको थियो । वि.सं. २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखका लागि टिकट दाबी गर्नुभएका गिरी काँग्रेस पार्टीले टिकट नदिएपछि निस्कृय बस्दै आउनुभएको थियो ।
पार्टी प्रवेश गरेको १९ दिन नबित्दै रास्वपा केन्द्रीय समितिले गिरीलाई टिकट दिएपछि आलोचना सुरु भएको छ । प्रतिनिधिसभा सदस्यको टिकट लिनुभएका गिरीसँगै रिफारिसमा पर्नुभएका ओझाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा ‘पैसाले जित्यो, योगदानले हा¥यो’ भनेर स्टाटस लेख्नुभएको छ ।

