खोटाङ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा अर्थ÷राजनीतिक विश्लेषक डा. हरि रोकालाई टिकट दिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित खुतुम्बु निवासी अर्थ÷राजनीतिक विश्लेषक डा. रोकालाई नेकपाले अर्थमन्त्री बनाउने सर्तसहित प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो ।
खोटाङका नेताहरुसहित आईतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुग्नुभएका अर्थ÷राजनीतिक विश्लेषक डा. रोकालाई पार्टी संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकट दिनुभएको जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभएको छ । पार्टीका सहयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका केन्द्रीय नेताहरुको उपस्थितिमा अर्थ÷राजनीतिक विश्लेषक डा. रोकालाई संयोजक प्रचण्डले टिकट दिनुभएको हो ।
अर्थ÷राजनीतिक विश्लेषक डा. रोकालाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको टिकट दिनुहुँदै संयोजक प्रचण्डले नेपालका सुप्रसिद्ध वाम विश्लेषक राजनीतिक अभियानमा जोडिदा देशभर बलियो सन्देश प्रवाह भएको प्रतिक्रिया दिनुभएको छ । संयोजक प्रचण्डले अर्थ÷राजनीतिक विश्लेषक डा. रोकालाई खोटाङ्गे नेता तथा जनताले प्रतिनिधिसभा सदस्यमा जिताएर पठाएको खण्डमा अर्थमन्त्री बनाउने आश्वसन दिनुभएको भिडियो क्लिप्ससमेत सार्वजनिक भएको छ ।
डाँडागाउँस्थित खुतुम्बुका मेघबहादुर रोका र विष्णुमायाँ रोकाको कोखबाट वि.सं. २०१६ असोज–१५ गते कान्छो सन्तानका रुपमा जन्मनुभएका अर्थ÷राजनीतिक विश्लेषक डा. रोका संविधानसभा सदस्यसमेत हुनुहुन्छ । वि.सं. २०३४ सालदेखि वामपन्थी राजनीतिमा सक्रिय अर्थ÷राजनीतिक विश्लेषक डा. रोकाले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि नेकपाबाट टिकट लिनुभएपछि पार्टी नेता तथा कार्यकर्ताहरु सत्साहित बनेका छन् ।
वि.सं. २०३१ सालमा एसलसी उत्तिर्ण गर्नुभएका नेकपाका उम्मेदवार डा. रोकाले वि.सं. २०७३ सालमा अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) उत्तिर्ण गर्नुभएको जनाइएको छ । राजनीतिक कामका लागि सक्रिय हुँदा पञ्चायतकालमा सात वर्ष नौँ महिना जेल जीवन बिताउनुभएका डा. रोका आठ महिना हिरासतमा समेत बस्नुभएको थियो ।
प्रतिनिधिसभा सदस्यतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा नेकपाबाट अर्थ÷राजनीतिक विश्लेषक डा. रोकाले टिकट लिनुभएपछि राजनीतिक हलचल सुरु भएको छ । दश स्थानीय तह रहेको जिल्लामा आगामी निर्वाचनमा नेकपा, नेपाली काँग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जिल्ला अध्यक्ष देवबिक्रम राईलाई टिकट दिएको छ भने, नेपाली काँग्रेसमा अहिलेसम्म उम्मेदवारका विषयमा छलफल नै हुन सकेको छैन । केन्द्रमा भएको विशेष महाधिवेशनको विवाद टुङ्गो नलागेकाले उम्मेदवारको नाम टुङ्गो लाग्न बाँकी रहेको काँग्रेस खोटाङले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रविन्द्र ओझा, मिलन कान्छा किराती र रुद्र गिरीको नाम चर्चामा छ भने, श्रम संस्कृति पार्टीबाट आरेन राई र जनता समाजवादी पार्टी नेपालबाट राकेश राईको नाम टुङ्गो लागेको छ । रास्वपाबाट तीन जनाको नाम सिफारिस भए पनि आज रातिसम्ममा एक जनाको नाम सर्वसहमतिमा आउने जिल्ला सभापति मुकुन्द थापाले जानकारी दिनुभएको छ ।
जिल्लामा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकिएको छ भने, निर्वाचन प्रहरीसमेत छनोट कार्य सुरु गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ४७ हजार १२० जना मतदाता कायम भएको निर्वाचन कार्यालयले जनाएको छ ।

