खोटाङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा देवबिक्रम राईलाई टिकट दिएको छ । एमाले खोटाङका जिल्ला अध्यक्षसमेत रहनुभएका नेता राईलाई एमाले पार्टी केन्द्रीय समितिले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि टिकट दिएको हो ।
एमाले खोटाङबाट सिफारिस भएका दश जना नेतामध्ये जिल्ला अध्यक्ष राईले टिकट पाउनुभएपछि बधाई तथा शुभकामना दिने पार्टी कार्यकर्ताहरुको लर्को लागेको छ । विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा आउनुभएका नेता राई राजनीतिसँगै व्यवसायिक कृषि तथा साहित्यिक क्षेत्रमा समेत कलम चलाउँदै आउनुभएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा निवासी बुबा शुभशेर राई र आमा जम्मासरी राईको जेठो सन्तानका रुपमा वि.सं. २०३६ असार–२२ गते जन्मनुभएका नेता राईले नेपाली विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएको छ । वि.सं. २०४२ सालमा बुइपास्थित चम्पावती माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गर्नुभएका नेता राईले वि.सं. २०५१ सालमा रत्नराज्य क्याम्पस काठमाडौँबाट नेपाली विषयमा स्नातकोत्तर उत्तिर्ण गर्नुभएको हो ।
धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गर्नुभएका नेता राई वि.सं. वि.सं. २०४७ सालमा खोटाङ–सुनसरी सम्पर्क समिति अध्यक्ष हुँदै वि.सं. २०५२ सालमा खोटाङ–काठमाडौँ सम्पर्क मञ्चको कोषाध्यक्ष भएर काम गर्नुभएको थियो । राजनीतिलाई सामाजिक सेवाका रुपमा उपयोग गर्दै आउनुभएका अगुवा कृषक एवम् साहित्यकार राईको ‘आस्थाका भण्डाहरु’ कविता सङ्ग्रहसमेत बजारमा आएको थियो ।
पार्टीको पाँचौँ जिल्ला अधिवेशन ताका जिल्ला फर्कनुभएका नेता राई उक्त अधिवेशनबाट जिल्ला सदस्य, छैटौँ जिल्ला अधिवेशनमा सचिव, सातौँमा उपाध्यक्ष र आठौँमा जिल्ला अध्यक्ष निर्वाचित हुनुभएको थियो । वि.सं. २०५७ सालमा खोटाङ सेवा समाज काठमाडौँको महासचिवसमेत हुनुभएका एमाले नेता राईले आठौँ जिल्ला अधिवेशनमा रामप्रसाद दंलाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
जिल्लाका अन्य दुई ठूला राजनीतिक दल नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले अहिलेसम्म उम्मेदवारको नाम टुङ्गो लगाएको छैन । नेकपाबाट वाम राजनीतिक विश्लेषक एवम् अर्थविद् हरि रोकाको नाम टुङ्गो लागेको जनाइएको छ । यद्यपि, केन्द्रीय समिटिबाट टिकट लिन बाँकी रहेको समाचार स्रोतले जनाएको छ ।
नेपाली काँग्रेसमा अहिलेसम्म उम्मेदवारका विषयमा छलफल नै हुन सकेको छैन । केन्द्रमा भएको विशेष महाधिवेशनको विवाद टुङ्गो नलागेकाले उम्मेदवारको नाम टुङ्गो लाग्न बाँकी रहेको काँग्रेस खोटाङले जनाएको छ ।
एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पूरानै राजनीतिक दलहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रविन्द्र ओझा, मिलन कान्छा किराती र रुद्र गिरीको नाम चर्चामा छ भने, श्रम संस्कृति पार्टीबाट आरेन राई र जनता समाजवादी पार्टी नेपालबाट राकेश राईको नाम टुङ्गो लागेको छ ।
जिल्लामा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकिएको छ भने, निर्वाचन प्रहरीसमेत छनोट कार्य सुरु गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ४७ हजार १२० जना मतदाता कायम भएको निर्वाचन कार्यालयले जनाएको छ ।

