खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा माध्यमिक विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शैक्षिक सुधारसँगै खेल क्षेत्रलाई पनि विद्यालयस्तरबाटै विकास गर्ने सरकारको नीति तथा कार्यक्रमअनुसार नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको हो ।
नगरपालिकाभरिका १२ सामुदायिक र एक संस्थागत विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धा हुने नगरपालिकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख सुरेश निरौलाले जानकारी दिनुभएको छ । नगरपालिकाको आयोजना तथा सरस्वती माध्यमिक विद्यालय अर्खौलेको व्यवस्थापनमा वडा नं. १० अर्खौलेको बिजुलेस्थित साल्पा खेल मैदानमा सुरु भएको प्रतियोगिता पुस–२८ गतेसम्म सञ्चालन हुनेछ ।
भलिबल, कबड्डी र एथलेटिक्स अन्तरगत १५ इभेन्टमा विद्यालय र विद्यार्थीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्डसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।
लगातार तीन पटक विजेता बनेको मङ्गलटारस्थित पिपलडाँडा माध्यमिक विद्यालयले यसअघि रनिङ शिल्ड आफ्नो नाममा सुरक्षित गरिसकेको छ । यस वर्षका लागि नयाँ रनिङ शिल्ड खरिद गरेर ल्याइएको नगरपालिकाले जनाएको छ ।
यस्तै, दोस्रो र तेस्रो हुने विद्यालयले कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रत्येक विद्यामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थी खेलाडीलाई ट्रफी प्रदान गरिनेछ । विजेता विद्यालयलाई नगद पुरस्कार प्रदान गर्ने तयारीसमेत गरिएको शाखा प्रमुख निरौलाले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा सहभागी सबै विद्यालयलाई दूरीको आधारमा यातायात, खाना र बासको खर्च नगरपालिकाले व्यवस्था गरेको छ । नगरपालिकास्तरीय तथा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको जनाएको छ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई गर्नुहुँदै नगरप्रमुख विमला राईले लगातार तीन पटक विजेता बनेर रनिङ शिल्ड जितेको पिपलडाँडा माविको उदाहरण दिनुहुँदै सबै विद्यालय र विद्यार्थीलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । उद्घाटन कार्यक्रममा उपप्रमुख रमेशकुमार राउत, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक तथा खेल शिक्षक, प्रतियोगितामा सहभागी विद्यार्थी, अभिभावक, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो ।
नगरपालिकाको आयोजनामा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले साल्पा खेलमैदान खेलकुद् महोत्सव झै बनेको छ । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा प्रतियोगिता गरिरहेका छन् ।

