खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको ‘दिक्तेल बजार सौन्दर्यकरण अभियान’लाई सहयोग गर्न दिक्तेल बजार आएका ललितकला क्याम्पस भोटाहिटी काठमाडौँका विद्यार्थीले विभिन्न प्रकारका चित्र बनाइरहेका छन् । ललितकला क्याम्पस काठमाडौँका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति आशिष पौडेलको नेतृत्वमा यही पुस–२१ गते दिक्तेल आएका दश जना विद्यार्थीले दिक्तेल बजारको विभिन्न चोक तथा व्यक्तिका घरको भित्ताहरुमा चित्र बनाइरहेका हुन् ।
दश दिनसम्म दिक्तेलमा बस्ने ललितकला क्याम्पसका विद्यार्थीलाई कला, संस्कृति तथा सन्देशमूलक चित्रहरु बनाउन लगाइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “दिक्तेल बजार जिल्लाको प्रमुख व्यापारिक केन्द्र हो । यसलाई सौन्दर्यकरण गर्दै नमूना बजार बनाउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाले सुरु गरेको दिक्तेल बजार सौन्दर्यकरण अभियानमा ललितकला क्याम्पसबाट आएका विद्यार्थीले कला, संस्कृति तथा सन्देशमूलक चित्र बनाइरहेका छन् । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै नगरपालिकाको आम्दानीको स्रोतसमेत वृद्धि गर्नेछ ।”
नगरपालिकाको आयोजनामा यही पुस–३० गतेसम्म सञ्चालन हुने सौन्दर्यकरण अभियानमा सहभागी विद्यार्थीलाई स्थानीयको इच्छा तथा टोलको विशेषता झल्कने किसिमका चित्र बनाउन लगाउने गरिएको जनाइएको छ । नेवार समुदायको बाहुल्यता रहेको शान्ति टोलमा नेवारी संस्कार तथा संस्कृति झक्ने चित्र बनाउन लगाइएको स्थानीयवासी एवम् नेवाः दय् दवू दिक्तेलका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभएको छ ।
‘कला, साहित्य र वातावरण संरक्षण हाम्रो परिकल्पना’ भन्ने नाराका साथ चित्र बनाउन दिक्तेल आएका विद्यार्थीले नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत चित्रकला सम्बन्धी इच्छुक विद्यार्थीलाई समेत चित्र बनाउने कला सिकाइरहेका छन् । सौन्दर्यकरणका लागि चित्र बनाउन दिक्तेल आएका ललितकला क्याम्पसका विद्यार्थीलाई नगरपालिकाले खाने, बस्ने र आवश्यक सामग्री उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले जानकारी दिनुभएको छ ।
भौतिक विकाससँगै कला, साहित्य, सँगीत तथा सौन्दर्यकरण लगायतको चौतर्फी विकासका गतिविधि गर्दै आएको यो नगरपालिकाले गत वर्ष मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला आयोजना गरेको थियो । अमेरिका, जापान, चिन, अष्ट्रलिया, भियतनाम लगायत विभिन्न ५० देशका ख्यातिप्राप्त चित्रकारहरुको सहभागिता रहेको कार्यशालामा २१० वटा क्यानभास उचारिएको नगरपालिकाले जनाएको छ ।
जिल्लाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलहरुका साथै धर्म, संस्कार, संस्कृति र रहनसहनका बारेमा चित्रकारहरुले क्यानभासमा उतारेका चित्र काठमाडौँ लगेर प्रदर्शनीमा राखिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कला परिषदको सभागृह बबरमहल काठमाडौँमा उद्घाटन गर्नुभएको १३ दिने (वि.सं. २०८१ फागुन–५ गतेदेखि १७ गतेसम्म) ‘मुन्दुम अन्तराष्ट्रिय चित्रकला प्रदर्शनी’ प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेताहरु, सरकारी उच्चपदस्त व्यक्तिहरुले अवलोकन गरेका थिए ।
संसारभर छरिएर रहेका खोटाङ्गेलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ आयोजना गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभएको छ । धनु आर्ट स्टुडियोसँगको सहकार्यमा आयोजित मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रम प्रभावकारी भएको अवलोकनमा सहभागी उच्चपदस्त व्यक्तिहरुले प्रतिक्रिया दिएका छन् ।
काठमाडौँ लगेर प्रदर्शनी गरिएको क्यानभास चित्रलाई पुनः दिक्तेल बजारमा ल्याएर सङ्ग्रहालयमा राखिएको छ । दिक्तेलस्थित रत्नपार्कमा सञ्चालित सपिङ कम्प्लेक्समा स्थापना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला सङ्ग्रहालयका लागि आवश्यक नयाँ भवन निर्माण गर्न नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु तीन करोड बजेट उपलब्ध गराएको छ ।

