खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाले शिक्षकलाई स्थानीय भत्ता दिने निर्णय कार्यपालिका बैठकबाट पारित गरेको छ । शिक्षक तथा कर्मचारीको लागि नेपाल सरकारको कार्यक्रम कार्यान्वयन कार्यविधि पुस्तिकाअनुसार नगरपालिकाले चालु आर्थिक वर्षदेखि लागू हुनेगरी शिक्षकलाई स्थानीय भत्ता दिने निर्णय पारित गरेको हो ।
नगरपालिकाको कार्यालयमा शनिबार बसेको १३६ औँ कार्यपालिका बैठकबाट स्थायी, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी÷करार र प्राविधिक धारमा कार्यरत प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई स्थानीय भत्ता दिने निर्णय पारित गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “स्थानीय भत्ता शिक्षकको तह अनुसार फरक–फरक हुन्छ । नगरपालिकामा कार्यरत शिक्षकले चालु आर्थिक वर्षको साउन–१ गतेबाट लागू हुनेगरी वर्षभरीमा साढे दश महिनाको स्थानीय भत्ता पाउनेछन्”, उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न पहलहरु गरिरहेका छौँ । शैक्षिक सुधारमा लागेका शिक्षकहरुको बनोबल उच्च बनाउनका लागि पनि नगरपालिकाको तर्फबाट स्थानीय भत्ता कार्यक्रम लागू गरिएको हो ।”
जिल्लाको दोस्रो ठूलो (एघारवटा वडा रहेको) नगरपालिकामा १२ वटा माध्यमिक (कक्षा–१२ सम्म), १५ वटा आधारभूत (कक्षा–१ देखि कक्षा–८ सम्म) र ५९ वटा प्राथमिक तह (कक्षा–१ देखि कक्षा–५ सम्म)गरी ८६ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । नगरकार्यपालिकाको निर्णयअनुसार शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराउनका लागि एक आर्थिक वर्षमा रु एक करोड ७३ लाख खर्च हुने अनुमान गरिएको नगरप्रमुख राईले जानकारी दिनुभएको छ ।
बालविकास केन्द्रदेखि कक्षा–१२ सम्म करिब पाँच हजार २०० विद्यार्थी अध्ययनरत रहेको यो नगरपालिकामा ३०९ जना शिक्षक कार्यरत रहेका छन् । जसमध्ये माध्यमिक तहमा १४ जना, निम्न माध्यमिक तहमा २८ जना र प्राथमिक तहमा कार्यरत १६० जनाले स्थानीय भत्ता पाउनेगरी निर्णय भएको समाचार स्रोतले जानकारी दिएको छ ।
सेवा सुविधाका हिसाबले नेपाल सरकारको ‘ग’ वर्गमा राखिएको खोटाङका शिक्षकले सोही अनुसार स्थानीय भत्ता पाउने कार्यविधिमा उल्लेख छ । नेपाल सरकारले तोकेअनुसार नगरपालिकाबाट स्थानीय भत्ता पाउने भएपछि हलेसी तुवाचुङ नगरपालिकाभित्र कार्यरत शिक्षकहरु उत्साहित भएका छन् ।
शिक्षकलाई स्थानीय भत्ता दिने व्यवस्था कार्यान्वयनका लागि नेपाल शिक्षक महासङ्घ हलेसी तुवाचुङ नगर समितिले गत कातिक–२६ गते नगरपालिकाको ध्यानाकर्षण गराएको थियो । शिक्षक महासङ्घले ध्यानाकार्षण गराएको करिब महिना दिनपछि शिक्षकका लागि स्थानीय भत्ता उपलब्ध गराउन नगरपालिका तयार भएको हो ।
जिल्लाका दश स्थानीय तहमध्ये बराहपोखरी गाउँपालिकाले शिक्षकलाई स्थानीय भत्ता दिने कार्यक्रम कार्यान्वयनमा लगिसकेको छ । जिल्लाका अन्य स्थानीय तहले अहिलेसम्म स्थानीय भत्ता कार्यक्रम कार्यान्वयन गरेका छैनन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपाल सरकारले लागू गरेको शिक्षकका लागि स्थानीय भत्ता कार्यक्रम तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो । स्थानीय भत्ताका लागि सङ्घीय सरकारले बजेटसमेत उपलब्ध गराउँदै आएको जानकारी दिनुहुँदै मन्त्री पुनले यही मङ्सिर–९ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नुहुँदै तत्काल कार्यान्वयन गर्न स्थानीय तहहरुलाई निर्देशन दिनुभएको हो ।

