५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्थायी बेलिब्रिज

फोक्सिङटार र बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानको काम सुरु



खोटाङ । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशी नदीको फोक्सिङटारमा मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याउन लागिएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका जिल्लासँग सिधा यातायात सञ्चालन गर्नेगरी जडान सुरु गरिएको अस्थायी बेलिब्रिज यही मङ्सिर अन्तिमदेखि नियमित हुने भएको छ । विगत छ महिनादेखि अवरुद्ध रहेको यो सगरमाथा लोकमार्गमा फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडानको काम सुरु भएसँगै दुई जिल्ला जोड्ने सिधा यातायात सञ्चालन हुने निश्चित भएको हो ।

गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरका अनुसार ठेक्का सम्झौता भइसकेको र सम्पूर्ण सामग्री तयारी अवस्थामा पुगेकाले अबको केही दिनभित्रै काम सम्पन्न हुने जनाइएको छ । योजना कार्यालय उदयपुरका सूचना अधिकारी इन्जिनियर सुभाषकुमार तिवारीकाअनुसार आगामी पुस–१५ गतेभित्र अस्थायी बेलिब्रिज जडानको काम सम्पन्न गरेर यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

ठेक्का सम्झौता गरेको लामो समयसम्म सुनकोशी नदीमा पानीको सतह नघटेकाले काम सुरु गर्न केही ढिलाइ भए पनि अब सतह कम हुँदै गएकाले तीव्र गतिमा काम अगाडि बढाइने ठेकेदार कम्पनीले जनाएको छ । अस्थायी बेलिब्रिज जडान गर्ने ठेक्का एमए÷एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रा.लि.कटारी–३, उदयपुरले लिएको छ ।

मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु ९६ लाख ७७ हजार ९३७ मा ठेक्का सम्झौता गरेर बेलिब्रिज जडानको काम सुरु गरिएको ठेकेदार कम्पनीले जनाएको छ । बेलिब्रिजका लागि आवश्यक सामग्री ल्याइसकिएकाले जडानको काममात्र बाँकी रहेको जनाइएको छ ।

गत वर्ष असोज–१२ गते राति आएको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको भीषण बाढीले फोक्सिन्टारको १२० मिटर लामो मोटरेबल पक्की पुल बगाएको थियो । फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि गाईघाट–दिक्तेल सिधा यातायात पूर्णरुपमा विच्छेद भएको छ ।

करिब १३ वर्ष लगाएर निर्माण भएको आर्क डिजाइनको पुल बाढीले बगाएपछि गत वर्षको पुसमा जडान गरिएको बेलिब्रिज वर्षायाम सुरु भएसँगै निकालिएको थियो । बेलिब्रिज निकालिएसँगै यातायात सेवा विच्छेद भएपछि पूर्वी तराई आवतजावत गर्ने यात्रुहरु झोलुङ्गे पुलमार्फत गन्तव्यमा पुग्ने गरेका छन् ।

भीषण बाढीले पुल बगाएपछि सवारीसाधनहरु रसुवाघाटको वारि र पारि रोकिँदै आएका छन् । फोक्सिङटारमा पुनः मोटरेबल पक्की पुल निर्माणका लागि आवश्यक बजेट सुनिश्चित भएको बताइए पनि अहिलेसम्म पुल निर्माणको प्रक्रिया अगाडि बढेको छैन ।

उता, सुनकोशीकै बङ्शिलाघाटमा समेत अस्थायी बेलिब्रिज जडानको काम धमाधम भइरहेको छ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सीमानामा पर्ने सुनकोशीस्थित बङ्शिलाघाटमा कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ५७ लाख लगानीमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको हो ।

गुरुकुल विल्डर्स एण्ड सप्लायर्स प्रा.लि.ले जडानको जिम्मा लिएको बङ्शिलाघाटको अस्थायी बेलिब्रिज पुस पहिलो हप्ताभित्र सम्पन्न गरेर सञ्चालनमा ल्याउने सम्झौतामा उल्लेख । आगामी वि.सं. २०८३ जेठ पहिलो सातासम्म सञ्चालन गर्नेगरी जडान सुरु गरिएको अस्थायी बेलिब्रिजको लम्बाई ५१ दशमलव ८१ मिटर लामो छ ।

बङ्शिलाघाटको अस्थायी बेलिब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले रु एक करोड ८७ लाखमा खरिद गरेर पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण गरेको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । लामो समयदेखि झोलुङ्गे पुलमार्फत आवतजावत गर्दै आएका दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा ढिलै भए पनि बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडान हुने भएपछि हर्षित भएका छन् ।

मोटरेबल पक्की पुलसमेत निर्माण भइरहेको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानका लागि खोटाङका बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिले सङ्घीय सरकारसँग माग गरेका थिए । बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानका लागि सङ्घीय सरकारले बजेट उपलब्ध नगराएपछि प्रदेश सरकारले बजेट उपलब्ध गराएर जडानको काम सुरु गरिएको कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले जानकारी दिनुभएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने स्थानीय तहका स्थानीयवासीको समस्यालाई मध्येनजर गर्दै बङ्शिलाघाटमा मोटरेबल पक्की पुल निर्माणको काम सुरु गरिए पनि त्यसले गति लिन सकेको छैन । तीन वर्ष आठ महिनाभित्र बनाइसक्नुपर्ने गरी कालिका–बेदान्सी जेवीले वि.सं. २०७७ पुस–२८ गते ठेक्का सम्झौता गरेको मोटरेबल पक्की पुलको पिलर ठड्याउने काममात्र भएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८२, शुक्रबार ००:००  ४ : ५१ बजे