५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य शिविर

पुस–२६ र २७ गते दिक्तेलमा निःशुल्क स्वास्थ्य शिविर हुने



खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आगामी पुस–२६ र २७ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिल काठमाडौँको संयुक्त आयोजनामा बृहत स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो ।

दिक्तेलस्थित जिल्ला आयुर्वेद अस्पतालको भवनमा सञ्चालन हुने शिविरमा मानसिक रोग, जनरल फिजिसियन, मुटु, मिर्गौला, स्त्रीरोग, दाँत, नसा, छाला तथा हाडजोर्नी सम्बन्धी सेवा उपलब्ध गराइने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । दुई दिनसम्म सञ्चालन हुने शिविरमा इसिजी, एक्स–रे, भिडियो एक्स–रे, ल्याब टेस्ट र निःशुल्क औषधि वितरणसमेत गरिने नगरपालिकाले जनाएको छ ।

निःशुल्क स्वास्थ्य शिविर सम्बन्धी नगरप्रमुख भट्टराई र ओम हस्पिटलका सञ्चालक समितिका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठ र सञ्चालक टंक श्रेष्ठको उपस्थितिमा सहमति भएको जनाइएको छ । शिविरमा अस्पतालबाट वरिष्ठ विशेषज्ञ डा. आनन्दप्रसाद श्रेष्ठसहितको आउने पनि सहमति भएको छ ।

शिविर आयोजना गरिएसँगै उपचारका लागि बाहिर जान नसकेका दुर्गम क्षेत्रमा बसोवास गर्दै नागरिकले अब जिल्लामै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर पाउने भएका छन् । शिविर सञ्चालनका लागि करिब रु १५ लाख खर्च लाग्ने अनुमान गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभएको छ ।

व्यवस्थापनको जिम्मा लिएको नगरपालिकाले शिविर सफल बनाउन राजनीतिक दल, सरोकारवाला निकाय तथा व्यवसायीसँग छलफल गर्ने तयारी गरेको छ । छलफलको निष्कर्ष र सुझावपछि थप तयारीको काम अगाडि बढाउने योजना बनाइएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभएको छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०८२, बुधबार ००:००  २ : ४६ बजे