खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ रेश्मिका सिवा परियार शंकास्पद अवस्थामा मृत फेला पर्नुभएको छ । सोही गाउँपालिकाको वडा नं.–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिका भदौ–३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा मृत फेला पर्नुभएको हो ।
सहकारी संस्थाका अध्यक्ष सागर तामाङले दिनुभएको जानकारीअनुसार रेश्मिका भदौ–३० गते अपरान्ह चार बज्न लाग्दा कार्यालयबाट बाहिरिनुभएको जनाइएको छ । अपरान्ह कार्यालयबाट हिड्नुभएकी रेश्मिका राति अबेरसम्म घर नपुगेपछि खोजी गर्नेक्रममा सडकभन्दा करिब १५० मिटर तल पर्ने मार्से सामुदायिक वनको झाडीमा मृत अवस्थामा भेटिनुभएको हो ।
स्थानीयबाट घटनाको जानकारी पाएलगत्तै विज्ञ टोली लिएर अनुसन्धान गर्न घटनस्थलतर्फ आफै हिँडेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश बुढाथोकीले बताउनुभएको छ । “जिल्लाबाट खटिएको टोली पुगेका छैनौँ । स्थानीय प्रहरी चौकीलाई घटनास्थल सुरक्षित गर्न भनेका छौँ”, उहाँले भन्नुभयो, “के भएको हो भन्ने हामी पुगेपछि मात्र खुल्छ । अहिले नै यही हो भन्न सकिने अवस्था छैन ।”
घटनास्थललाई स्थानीयको सहयोगमा प्रहरीले सुरक्षित राखेको जनाइएको छ । घटनास्थलमा प्रहरी चौकी याङ्सोलाटार, छितापोखरी, भँडारेघाट र याम्खाको टोली गएरातिदेखि नै खटिएका छन् । घटनास्थलको प्रकृति हेर्दा रेश्मिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशङ्का गरिएको घटनास्थलमा पुगेका प्रहरीले जनाएको छ ।
घटनास्थलका प्रत्यक्षदर्शीले दिएको जानकारीअनुसार मृत फेला पर्नुभएकी रेश्मिकाको चप्पल सडकमुनि कुनामा भेटिएको छ । सडकदेखि शव रहेको स्थानसम्म घिसारिएको र झाडी मडारिएको देखिएको स्थानीयले बताएका छन् । त्योभन्दा केही तल झोला र अन्डरवेर (प्यान्टी) भेटिएको जनाइएको छ ।
घटनास्थलको सबैभन्दा तल घाँटीमा कालो सलले बेरेको अवस्थामा रेश्मिकाको शव भेटिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभएको छ । अन्डरवेर पाखामा भेटिए पनि शव भने लुगा लगाएको अवस्था देखिएको घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
मृतकका आफन्तले दिएको जानकारीअनुसार घटनाअघि तिरतिरेधाराबाट अपरान्ह ४ः५३ बजेतिर रेश्मिका र श्रीमानबीच फोन सम्पर्क भएको जनाइएको छ । त्यसको केही समयपछि रातामाटाबाट जङ्गलतर्फ जानेबेला रेश्मिकाको पारपानीका आफन्तसँग भेट भएको थियो । त्यो भेटमा रेश्मिका ‘डराएको हाउभाउ’मा देखा पर्नुभएको जनाइएको छ ।
खोजिगर्नेक्रममा राति करिब नौँ बजेको समयमा मृत फेला पारिएको स्थानीयले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका पूर्वअध्यक्ष एवम् स्थानीयवासी रामप्रसाद दंगालले रेश्मिकाको बलात्कारपछि हत्या भएको भन्दै अपराधी पत्ता लगाएर कानूनी कारबाही गर्न सामाजिक सञ्जालमार्फत माग गर्नुभएको छ ।
सामुदायिक वनमा शङ्कास्पद अवस्थामा मृत फेला पर्नुभएकी रेश्मिकाको श्रीमान र एक छोरी छन् । सात वर्षकी एकमात्र छोरीलाई काठमाडौँमा राखेर पढाउँदै श्रीमान÷श्रीमती घरमा बस्दै आएको स्थानीयले बताएका छन् ।

