खोटाङ । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई ‘पीके’ले पुस्तकालय भवनको उद्घाटन गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा माध्यमिक विद्यालयको पुस्तकालय भवन मन्त्री राईले औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो ।

सामाजिक विकास मन्त्रालयको आर्थिक वर्ष २०८१–०८२ मा मन्त्रालयले विनियोजन गरेको २० लाख र विद्यालय व्यवस्थापन समितिको २ लाख ३३ गरी २२ लाख ३३ हजारको लागतमा उक्त विद्यालयको पुस्तकालय भवन निर्माण भएको हो । पुस्ताकालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री राईले पुस्तकालय मात्रै त्यस्तो स्थान हो जहाँ हरपल अध्ययन गर्ने अवसर प्राप्त गर्न सकिने बताउनुभएको छ ।
शिक्षाले मानवमा भएको अन्तरनिहित प्रतिभा प्रस्फुटन गरी कुशललतापूर्वक जीवनयापन गर्न सहयोग गर्ने बताउनुभएको हो । मन्त्री राईले भन्नुभयो, “शिक्षा मात्र नभई आजको परिवेशमा गुणस्तरीय, जीवनोपयोगी र व्यावहारिक शिक्षाको आवश्यकता खड्किएको छ । गुणस्तरीय शिक्षाका लागि पुस्तकालय प्रमुख आधार रहेको छ। शिक्षा गुणस्तरीय र जीवन उपयोगी हुनु मानव जिवनमा आवश्यक रहेको छ।”
आगामी दिनहरुमा पनि विद्यालयलाई सुधार गर्नका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने मन्त्री राईले प्रतिवद्धता जनाउनुभएको छ । विद्यालयलाई विभिन्न क्षेत्रमा सहयोग गर्नुहुने दाताहरुलाई सम्मान गरिएको छ । विद्यालयलाई दुई थान भलिबल प्रदान गर्नुहुने भलिबल कोच सागर राई, भलिबल प्रशिक्षक प्रविन राई र कुमारी राईलाई मन्त्री राईले अबिर तथा फुलको पुस्प गुच्छाले सम्मान गर्नुभएको हो ।

