खोटाङ । नेकपा एमाले का पोलिब्यूरो सदस्य विशाल भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई देशको नेता बनाउन एमालेको सक्रिय राजनीतिमा रोक लगाइएको बताउनुभएको छ । एमाले खोटाङले दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नेता भट्टराईले पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको मात्र नेता नभइ देशकै साझा नेता बनाउन एमालेको सक्रिय राजनीतिमा रोक लगाइएको बताउनुभएको छ ।
संविधानसभा सदस्य एवम् एमाले संसदीय दलका पूर्वप्रमुख सचेतकसमेत रहनुभएका नेता भट्टराईले एमाले स्थायी समिति, पोलिटब्यूरो तथा केन्द्रीय समितिका बहुमत सदस्यले गरेको निर्णय पूर्वराष्ट्रपति भण्डारीको हितमा रहेको पनि दाबी गर्नुभयो । “विद्यादेवी भण्डारी दुई पटक राष्ट्र प्रमुख भएको सम्मानित व्यक्ति हुनुहुन्छ । उहाँ पुनः सक्रिय राजनीतिमा आउँदा त्यो पदको ओझ घट्छ भन्ने पार्टीको ठम्याइ हो”, उहाँले भन्नुभयो, “एमालेले गरेको निर्णय उहाँ (विद्यादेवी भण्डारी)को हितमा छ । उहाँ अब सक्रिय राजनीतिमा आउनुहुन्न । बाहिरै बसेर पार्टीलाई सहयोग गर्नुहुन्छ ।”
नेता भट्टराईले कुनै पनि व्यक्तिको उमेरका कारण योग्यता, क्षमता र सक्रियताको मापन गर्न नहुने रहेछ भन्ने निष्कर्षमा पार्टी पुगेको पनि जानकारी दिनुभएको छ । “कुनै पनि व्यक्ति ६९ वर्ष ११ महिना २९ दिनसम्म सक्षम भयो । तर, भोलिपल्ट बिहान उठ्दा असक्षम भयो भन्ने कुरा उचित हुँदैन रहेछ भन्ने पुष्टि भएको छ”, उहाँले भन्नुभयो, “उमेर हदको मापदण्ड सबैलाई उपयुक्त नहुने रहेछ । कोही व्यक्ति ४० वर्ष नपुग्दै असक्षम भएको देखिन्छ । कोही १०० वर्ष नाघेर पनि सक्रिय भएको देखिन्छ । त्यसैले पार्टीमा उमेर हदलाई मापदण्ड बनाउन हुँदैन भनेर हटाएका हौँ ।”
एमाले खोटाङका इन्चार्जसमेत रहनुभएका नेता भट्टराईले अब हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा वर्तमान अध्यक्ष एवम् नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली एकमात्र उम्मेदवार रहेको पनि जानकारी दिनुभएको छ । एमाले खोटाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीमा उठेका फरक विचारलाई समेत सुझावको रुपमा सङ्कलन गरेर विधान महाधिवेशनमा लगिने नेता भट्टराईले जानकारी दिनुभएको छ ।
एमाले खोटाङले पार्टी केन्द्रीय समितिले पठाएको अपानी १२ (अन्तर पार्टी निर्देशन)लाई केन्द्रको निष्कर्ष नै उपयुक्त रहेको ठहर गरेको जिल्ला अध्यक्ष देवबिक्रम राईले जानकारी दिनुभएको छ । जिल्लाका दशवटै स्थानीय तह तथा जिल्ला कार्यसमिति सचिवालय समितिको दोस्रो विस्तारित बैठकलेसमेत अपानी १२ उपयुक्त रहेको निष्कर्ष निकालेको एमाले खोटाङले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
एमाले खोटाङको पूर्ण बैठकले वामपन्थी विचारका व्यक्ति तथा बिगतमा पार्टी छाडेर गएका व्यक्तिलाई पुनः एमालेको मूल घरमा समाहित गर्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लाका दशवटै स्थानीय तहमा अभियान सञ्चालनका लागि जिल्ला अध्यक्ष राईलाई जिम्मेवारी दिइएको समेत पत्रकार सम्मेलनमा जनाइएको छ ।
बैठकले पार्टीको कोशी प्रदेश कार्यसमितिले सुरु गरेको प्रदेशस्तरीय समृद्धिको खाका निर्माण अभियानलाई जिल्लाका तल्लो तहसम्म पु¥याउने निर्णय गरेको छ । यसका लागि प्रदेशसभा क्षेत्र नं. १ (क)मा उपसचिव कविता राई र २ (ख)का लागि राजन बञ्जरालाई जिम्मेवारी दिइएको जनाइएको छ ।
पार्टी जिल्ला कार्यसमितिको वार्षिक कार्ययोजना निर्माण र मातहतका समितिलाई आफ्नो वार्षिक कार्ययोजना निर्माण गर्न सहजीकरणका लागि सचिव सुरेन्द्रकुमार राईलाई जिम्मेवारी दिइएको प्रेस वक्तव्यमा उल्लेख छ । बैठकले जिल्लामा पछिल्लो समय भएका केही घटना शङ्कास्पद देखिएको भन्दै तत्काल सत्यतथ्य छानबिनगरी दोषी पहिचान गरेर कानूनी कारबाही गर्न सम्बन्धित निकाय समक्ष आग्रह गरेको छ ।

