विराटनगर । कोशी प्रदेसका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले विद्यालय सुधार गर्न मन्त्रालय प्रतिवद्व रहेको बताउनुभएको छ । विराटनगरस्थित मिल्स माध्यमिक विद्यालय र जनविकास माध्यमिक विद्यालयको अनुगमनका क्रममा मन्त्री राईले विद्यालय सुधार ‘आफैंबाट सुरु हुनुपर्ने’ भन्दै शिक्षक, विद्यालय प्रशासन र स्थानीय तहबिच सहकार्य एवम् समन्वय हुनुपर्ने बताउनुभएको हो ।
मन्त्री राईले विद्यालय सुधारको सुरुवात ‘आफैंबाट’ हुनु पर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ’शिक्षक र विद्यालय प्रशासन नियमित हुनुहोस्, कक्षा कोठा सफा राख्नुहोस्, विद्यार्थीलाई आकर्षित गर्ने वातावरण बनाउनुहोस्। विद्यालय भित्रको अनुशासनले नै बाहिरको सुधार ल्याउँछ।´´
मन्त्री राईले भन्नुभयो, विद्यालय सुधार गर्नका लागि मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्न नहिचकिचाउने बताउँदै, विद्यालय सुधारका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन, नियमित अनुगमन र स्थानीय तहसँगको सहकार्य प्राथमिकतामा राख्नसमेत जोड दिनुभयो ।
अनुगमनमा मन्त्रालयका सचिव हेमराज तामाङ, महाशाखा प्रमुख लक्ष्मी न्यौपाने, यादव प्रसाद दुलाल, शाखा प्रमुख पेशल राई, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत सानन्द भट्टराई तथा विराटनगर महानगरपालिकाका शिक्षा शाखा अधिकृत कृष्ण प्रसाद भट्टराई सहभागी हुनुभएको थियो ।
अनुगमन टोलीले तत्कालै विद्यालय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, कमजोर भौतिक संरचना सुधारका लागि सहयोग गर्ने र विद्यार्थी ड्रप आउट रोकथामलाई प्राथमिकतामा राख्ने बारेमा छलफल गरेको छ। मन्त्रलायका सचिव तामाङले भौतिक सुविधा मात्र नभई अभिभावकलाई सचेत बनाउनुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ ।

