६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालिका मृत फेला प्रकरण

बालिका मृत फेला प्रकरण : सत्यतथ्य छानबिन गर्न १२ सङ्घ÷सङ्गठनको माग



खोटाङ। झुन्डिएको अवस्थामा मृत फेला परेकी हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी १२ वर्षीया तारा अछामीको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंकासहित निष्पक्ष छानबिन र अनुसन्धानको कामलाई तीव्रताका साथ अगाडि बढाउन माग गर्दै जिल्लास्थित विभिन्न १२ सङ्घ÷सङ्गठनले जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाएका छन् । अनेरास्ववियु खोटाङ, राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल खोटाङ, महिला मानव अधिकार रक्षक सञ्जाल खोटाङ, महिला एकता अध्ययन केन्द्र खोटाङ, बालसेवा समाज नेपाल नेर्पा खोटाङ, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ खोटाङ, अखिल नेपाल महिला सङ्घ, राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङ, महिला उद्यमी सङ्घ खोटाङ, खोटाङ दलित उद्यमी सहकारी संस्था, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी), गैरसरकारी संस्था महासङ्घ र नेपाल महिला सङ्घ खोटाङले आज (बिहीबार) प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।

मृतक बालिका गत साउन–२९ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रामकुमार हिङमाङको घरमा झुन्डिएको अवस्था मृत फेला परेकी थिइन् । कम्मरमुनिको अङ्ग नाङ्गो हुनु, जनप्रतिनिधिको बिना उपस्थिति बालिकाको शव प्याकिङ गरिनु, घटनास्थलमा विज्ञ र फोरेन्सिक जनशक्तिको प्रयोग नहुनु, १२ वर्षकै उमेरमा डिप्रेसन वा तनावको कारण आत्महत्या गर्न सक्ने सम्भावना न्यून हुनु, टिसर्ट र सुत्ली डोरीको प्रयोग गरी खुट्टा टेकिएकै अवस्थामा झुन्डिएको हुनु, घटनास्थलमा पटक–पटक प्रहरी परिचालन गराइ अनुसन्धानलाई तीव्रता दिनुपर्नेमा त्यसो नगरिनुले घटना शंकास्पद भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

मृतक बालिकाका आफन्तले समेत आफ्नो नाबालिक छोरीको हत्या भएको आशंका गर्दै तत्काल छानबिनको प्रक्रिया अगाडि बढाउन माग गर्दै यही भदौ–१ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए । मृतकका बुबा टेकबहादुर सार्कीले घटना भएको चार दिनपछि प्रहरीमा जाहेरी दिनुभएपछि मृतक बालिकाको शव परीक्षण परेर अत्येष्टि गरिएको थियो ।

बाम्राङस्थित सावित्रा माध्यमिक विद्यालयको कक्षा–४ मा अध्ययनरत मृतक बालिका करिब तीन महिनादेखि हिङमाङको घरमा बस्दै आएको आफन्तले बताएका छन् । मृतक बालिकाकी आमा सरिता सार्की एक भाइ छोरासहित हिङमाङको घरमुनि डेरा लिएर बस्दै आउनुभएको छ भने, बुबा टेकबहादुर ज्यालादारी कामका लागि काठमाडौँ बस्दै आउनुभएको छ ।

आफ्नो घरमा बस्दै आएकी बालिकाको मृत्युको घटनालाई लिएर विभिन्न कुरा बाहिर आउन थालेकाले तथ्यसत्य छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरीसमक्ष आफूले समेत माग गर्दै आएको हिङमाङले बताउनुभएको छ । “म प्रायः दिक्तेल बजारमा रहेको घरमा बस्छु । घटनाका विषयमा जानकारी पाएपछि त्यो दिन बाम्राङस्थित घरमा गएको थिएँ । के कारणले घटना भयो भन्ने अहिलेसम्म खुलेको छैन”, उहाँले भन्नुभयो, “मेरो घरमा घटना भएकाले सत्यतथ्य छानबिनका लागि गहिरो अनुसन्धान गरिदिन प्रहरी समक्ष अनुरोध गरेको छु । ती बालिकाको आत्महत्या नभइ कोही कसैले हत्या गरेको भए अपराधीले उन्मुक्ति पाउनु हुँदैन । प्रहरीको अनुसन्धानमा मेरो सहयोग रहनेछ । बिना आधार कसैलाई आरोप लगाउन पाइदैन । सत्यतथ्य बाहिर आउनुपर्छ ।”

आफन्त तथा सङ्घ÷सङ्गठनले आशंका गरेजस्तो मृत फेला परेकी बालिकाका शव परीक्षण प्रतिवेदन नरहेको र थप प्ररीक्षणका लागि स्वाब सङ्कलन गरेर काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभएको छ । बाम्राङमा भएको बालिका मृत फेला प्रकरणको घटनामा यथार्थ जानकारी बाहिर आउन ढिला भएपछि राजनीतिक प्रतिशोधका आधारमा एकआपसमा आरोपप्रत्यारोपसमेत सुरु भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहिबार ००:००  ५ : १७ बजे