६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुवा तथा खोलाको पानी उपभोग गर्न बाध्य दिप्सुङवासीका १०१ घरमा स्वच्छ खानेपानी 



खोटाङ ।

केपिलासगढी गाउँपालिका–६ दिप्सुङस्थित बिसुदुका ४३ घर स्थानीयवासीको घर–घरमा धारामार्फत स्वच्छ खानेपानी उपलब्ध गराइएको छ । वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका दिप्सुङवासीका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन गाउँपालिकाले सञ्चालन गरेको ‘एक घर, एक धारा’ कार्यक्रममार्फत घर–घरमा धारा निर्माण गरेर स्वच्छ खानेपानी उपलब्ध गराइएको हो ।
स्थानीय सङखोला मुहानबाट आठ हजार ७९२ मिटर लामो पोलेथिन पाइप प्रयोग गरेर ल्याइएको पानी विभिन्न ठाउँमा छ÷छवटा सङ्कलन तथा वितरण ट्याङ्की निर्माण गरेर उपभोक्ताको घर–घरमा निर्माण गरिएको धारामार्फत खानेपानी वितरण गरिएको जनाइएको छ । जी फोण्डेशन नेपालको आर्थिक तथा प्राविधि सहयोगमा सञ्चालन गरिएको ‘दिप्सुङ खानेपानी परियोजना’बाट स्वच्छ खानेपानी उपभोग गर्न पाएपछि दिप्सुङस्थित बिसुदुका ४३ घरका २२४ जना उपभोक्ता लाभान्वित भएका छन् ।
तत्कालीन जिल्ला विकास समितिको कार्यालय खोटाङमार्फत निर्माण गरिएको सामुहिक धारा तथा कुवा, खोला र व्यक्तिगत लगानीमा खरिद गरेर ल्याएको पोलेथिन पाइपमार्फत ल्याइएको पानी उपभोग गर्दै आएका बिसुदुवासीका लागि उपलब्ध गराइएको खानेपानी परियोजनामा एउटा पानी प्रशोधन गर्ने ट्याङ्कीसमेत निर्माण गरिएको छ । करिब महिना दिनअघि निर्माण सम्पन्न भएको खानेपानी परियोजना यही साउन–९ गते जी फाउण्डेशनले गाउँपालिकालाई औपचारिकरुपमा हस्तान्तरण गरेको हो ।
वि.सं. २०८१ पुस–१० गतेबाट सुरु भएको खानेपानी परियोजनामा उपभोक्ताको श्रमदानसहित रु ५४ लाख ७१ हजार २१० खर्च भएको जनाइएको छ । खानेपानी परियोजना सञ्चालनका लागि जी फाउण्डेशनले मूल्य अभिवृद्धि करबाहेक रु ४८ लाख ९४ हजार ७३८ तथा स्थानीय उपभोक्ताको रु पाँच लाख ७६ हजार ४७२ बराबरको श्रमदान उपलब्ध भएको स्थानीय परियोजना सल्लाहकार समितिका अध्यक्ष सङ्गम राईले जानकारी दिनुभएको छ ।
दिप्सुङस्थित बिन्दुका ५८ घर स्थानीयवासीका लागि यसअघि वडा र गाउँपालिकाको लगानीमा हरेक घरमा खानेपानीको धारा निर्माण गरेर स्वच्छ खानेपानी उपलब्ध गराइ सकिएको वडाध्यक्ष गोपाल राईले जानकारी दिनुभएको छ । वडाध्यक्ष राईका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा वडा र गाउँपालिकाको रु १५÷१५ लाख लगानीमा ५८ घर स्थानीयवासीकामा धारा निर्माण गरेर खानेपानी उपलब्ध गराइएको हो ।
गाउँपालिकाले सुरु गरेको ‘एक घर, एक धारा’ कार्यक्रम अन्तरगत यस आर्थिक वर्ष दिप्सुङमा बाँकी रहेका सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराउनेगरी बजेटको व्यवस्था गरिएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभएको छ । करिब २०० घरधुरी स्थानीयको बसोवास रहेको दिप्सुङमा खानेपानी योजना सञ्चालन गर्न यस आर्थिक वर्षका लागि वडा कार्यालयले रु १४ लाख बजेट विनियोजन गरेको छ ।
वडाध्यक्ष राईका अनुसार दिप्सुङस्थित दिप्रु, शेर्पागाउँ, खुत्रु, डाँडागाउँ र देविथानका स्थानीयवासीको घरमा खानेपानी विस्तार हुन बाँकी रहेको जनाइएको छ । सङखोला मुहानबाट खुत्रु, डाँडागाउँ र देविथानका स्थानीयका लागि खानेपानी उपलब्ध गराउनेगरी संरचना निर्माण गरिसकिएको छ भने, दिप्रु र शेर्पागाउँका लागि छुट्टै मुहान पहिचान गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, मंगलबार ००:००  ६ : १८ बजे