खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याएर नगर प्रथम हुने विद्यार्थी र विद्यालयलाई नगदसहित सम्मान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियानमा लागेको नगरपालिकाले शनिबार दिक्तेलमा आयोजना गरिएको शिक्षा सम्मेलन समापनको अवसर पारेर विद्यार्थी र विद्यालयलाई नगदसहित सम्मान गरेको हो ।
शैक्षिकसत्र २०८१ को एसइईमा सरस्वती माध्यमिक विद्यालय दिक्तेलका छात्रछात्रा दुवैमा नगर प्रथम, द्धितीय र तृतीय भएका छन् । नगर प्रथम, प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई नगद रु २५ हजार रु १५ हजार र रु दश हजारको साथमा सम्मानपत्र प्रदान गरिएको नगर शिक्षा शाखाका कर्मचारी सुवासचन्द्र राईले जानकारी दिनुभएको छ ।
छात्रतर्फ समान जीपीए ल्याएर सरस्वती मावि दिक्तेलका जोमिन गुरुङ र अनुपम आचार्य तथा छात्रातर्फ ३.७६ जीपीए ल्याएर एलिसा बास्तोल नगर प्रथम भएका छन् । समान ३.८० जीपीए ल्याएर नगर प्रथम हुने आचार्य र गुरुङलाई जनही नगद रु २५÷२५ हजारसहित सम्मान पत्र प्रदान गरिएको छ ।
छात्रतर्फ ३.६८ जीपीए ल्याएर द्धितीय हुने डेगेन्द्र विश्वकर्मालाई नगद रु १५ हजार, ३.६७ जीपीए ल्याएर तृतीय हुने अनुपराज आचार्यलाई नगद रु दश हजारसहित सम्मानपत्र प्रदान गरिएको छ । छात्रातर्फ नगर प्रथम हुने बास्तोलालाई नगद रु २५ हजार, ३.७० जीपीए ल्याएर द्धितीय हुने अञ्जली श्रेष्ठलाई रु १५ हजार र ३.६८ जीपीए ल्याएर तृतीय हुने एलिजा आचार्यलाई रु दश हजारसहित सम्मानपत्र प्रदान गरिएको छ ।
यस्तै, एसइईमा विद्यार्थी उत्तिर्ण सङ्ख्याको आधारमा ९५.४५ प्रतिशत अङ्क ल्याएर नगर प्रथम हुने ज्योति मावि जालपालाई नगद रु ५० हजार, ९१.३ प्रतिशत अङ्क ल्याएर द्धितीय हुने कालिका मावि नेर्पालाई रु ३० हजार र ८६.९६ प्रतिशत अङ्क ल्याएर तृतीय हुने पञ्च मावि दिक्तेललाइ रु २० हजारसहित सम्मानपत्र प्रदान गरिएको छ ।
एसइईमा विद्यार्थी उत्तिर्ण प्रतिशतको आधारमा तृतीय भएको पञ्च मावि दिक्तेलले भने, नगरपालिकाले प्रदान गरेको पुरस्कार अस्वीकार गरेको छ । अगाडिका वर्षहरुमा नगरपालिकाले पुरस्कार प्रदान गर्दै आएको तर, शैक्षिकसत्र २०८० मा पञ्च माविका विद्यार्थी नगर प्रथम हुँदा पुरस्कार नदिएकाले यो वर्षको पुरस्कार अस्वीकार गरिएको प्रधानाध्यापक लक्ष्मीप्रसाद खनालले बताउनुभएको छ ।
उत्कृष्ट अङ्क र जीपीए ल्याउने विद्यालय र विद्यार्थीलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे लगायतले पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभएको छ । नगरपालिकाका २१ वटा सामुदायिक मावि एसइईमा सहभागी भएकामा जालपा मावि नुनथलाको नतिजा शून्य भएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहले समेत उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरिरहेका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार खोटाङका पाँच विद्यालयको नतिजा शून्य आएको छ ।
राधाकृष्ण मावि बाँझेच्यानडाँडा, जालपा मावि नुनथला, जनता मावि सल्ले, याङ्सोला मावि छोरम्बु र शान्तोदय मावि ज्यामिरेको को नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जनाएको छ । एसइईमा विद्यालयले शून्य नतिजा ल्याएपछि व्यवस्थापन समिति र शिक्षकहरुको चर्को आलोचना भइरहेको छ ।

