६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपिलासगढी बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका



खोटाङ । केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । चालू आर्थिक वर्ष २०८१÷०८२ मा जन्मेदेखि १५ महिनामूनिका २२३ जना बालबालिकाले हालसम्मको र १६ महिनादेखि ५९ महिनासम्मका ६१५ जना बालबालिकाले १४ प्रकारका रोगविरुद्धको नियमति खोप लगाएको सुनिश्चित भएपछि शुक्रबार केपिलासगढीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणासँगै जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका प्रमुख समीर राईलाई हस्तान्तरण गर्नुभएको छ । गाउँपालिका प्रमुख राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङ, गाउँपालिका उपप्रमुख गुरुराज राई, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाई, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राई लगायतको उपस्थिति थियो ।

दश स्थानीय तह रहेको जिल्लामा यसअघि आठवटा स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिसकिएको थियो । केपिलासगढीलाई शुक्रबार घोषणा गरिएसँगै दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा हुनेको सङ्ख्या नौँ पुगेको छ ।

अब हलेसी तुवाचुङ नगरपालिकामात्र पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गर्न बाँकी रहेको जनाइएको छ । जिल्लाको दोस्रो ठूलो स्थानीय तह हलेसी तुवाचुङ नगरपालिकालाई यही असार–२१ गतेभित्र पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरेर २२ गते जिल्ला घोषणा गर्ने तयारी गरिएको खोप समन्वय समितिका संयोजक राईले जानकारी दिनुभएको छ ।

नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । खोप कार्यक्रमबाट कोही बालबालिका वञ्चित नहोस् भन्ने उद्देश्यले ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप निश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ नेपाल सरकारले खोप कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याएको हो ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार ००:००  ४ : ३६ बजे