खोटाङ । कोशी प्रदेश सरकारले जिल्ला अस्पताल खोटाङलाई ५० शैयाको बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्की को अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषदको वैठकले १५ शैयाको जिल्ला अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री पाँचकर्ण राईले जानकारीदिनुभयो ।
गत बैसाख १ गते जिल्ला अस्पताल खोटाङलाई ५० वेड बनाउँदै स्तरउन्नती गर्न मन्त्रीपरिषदको वैठकमा सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्य मन्त्री भूपेन्द्र राईले प्रस्ताव पेश गर्नुभएको थियो । विभिन्न कारणले स्वास्थ्य समस्या झेल्दै आएका जिल्लावासी ढिलै भए पनि ५० शैय्याको अस्पतालको सेवा विस्तार गर्न लागिएकामा हर्षित छन् ।
वि.सं. २०४९ साल वैशाख १ गते स्थापना भएको अस्पताल अहिले ट्रस भवनबाट स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ। अस्पतालमा पर्याप्त उपकरण नहुँदा गम्भीर किसिमका बिरामीलाई अन्यत्र सिफारिस गर्नुपरेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डाक्टर रुपेश सङ्ग्रौलाले जानकारीदिनुभयो । हाल सम्म १५ शैयामा सञ्चालन हुदैं आएको अस्पतालको ५० शैयाको भवन निर्माणाधीन अवस्थामा रहेको छ ।



