५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि ललितपुरका सुजन गदाललाई



खोटाङ, २ जेठ ।नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेलमा आयोजना गरेको खुला राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि एभिएम टेबलटेनिस क्लब ललितपुरका सुजन गदालले जित्नुभएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्ड हलमा बुधबार साँझ सम्पन्न फाइनल खेलमा रुपन्देहीका बुद्धिमान गुरुङलाई हराउँदै गदालले रु २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रसहितको उपाधि जित्नुभएको हो ।

विभिन्न जिल्लाका २६ जना खेलाडी सहभागी प्रतियोगिताको उपविजेता बन्नुभएका गुरुङले रु १२ हजार ५०० र सेमिफाइनलिस्ट सुनसरीका सिदार्थ तामाङ र एभिएम टेबलटेनिस क्लब ललितपुरका प्रजिल भट्टराईले जनही रु छ हजार २५० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । नेपाल सितोरियो कराँते सङ्घ खोटाङसँगको सहकार्यमा आयोजित ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तरगत जुनियर महिला÷पुरुष टेबलटेनिस प्रतियोगितासमेत सम्पन्न गरिएको छ ।

जुनियर महिलातर्फ एभिएम टेबलटेनिस क्लब ललितपुरकी साइरा शाक्यले शाक्यले रु दश हजार राशीको प्रथम उपाधि जित्नुभएको छ । प्रतियोगितामा दोस्रो हुने सोही क्लबकी अर्सना महर्जनले रु पाँच हजार तथा सेमिफाइनलिस्ट खोटाङकी टोनिसा पोखरेल र ज्ञानु राईले समान रु दुई हजार ५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

जुनियर पुरुषतर्फ एभिएम टेबलटेनिस क्लब ललितपुरकै जयस्नु महर्जनले रु रु १५ हजार राशकिो प्रथम उपाधि जित्नुभएको छ । प्रतियोगितामा दोस्रो हुने सोही क्लबका प्रजिल भट्टराईले रु सात हजार ५०० र तृतीय हुने रुपन्देहीका बुद्धिमान गुरुङ र समिर खत्रीले समान रु तीन हजार ७५० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

वैशाख–२७ गतेदेखि जेठ–४ गतेसम्म सञ्चालन हुने महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला महिला÷पुरुष हाफ म्याराथनसहित खुला दौड, खुला महिला÷पुरुष टेबलटेनिस, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभएको छ ।

महोत्सव समापनको अवसरमा साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका जिल्ला बाहिरका एकजना महिला साहित्यकारलाई नगदसहित सम्मान गरिने जनाइएको छ । महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार ००:००  ५ : २४ बजे