५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेठ २ देखि सगरमाथा संवाद, १७५ जना विदेशी प्रतिनिधि सहभागी रहने



काठमाडौं।सगरमाथा संवादमा १ सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन्। यही जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद हुँदैछ।मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले सगरमाथा संवादमा १ सय ७५ जना विदेशी पाहुनाले सहभागिता जनाउने जानकारी दिएकी हुन्।

संवादमा ३ सय ५० जना सहभागी रहने उनको भनाइ छ। सगरमाथा संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरूको उपस्थिति रहने उनले बताइन्।

संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीसँग साइडलाइन भेटवार्ताको व्यवस्था गरिएको उनको भनाइ छ।

मन्त्री राणाकाअनुसार संवादको तयारी अन्तिम चरणमा पुगेको छ। तयारीस्वरुप सरकारले करिब १० वटा पूर्वसंवाद कार्यक्रम आयोजना गरेको छ।

जसअन्तर्गत जुम्लामा हिमाली डायलग, काठमाडौंमा वायु संवाद, प्रि संवाद लगायत रहेका छन्। तीन दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।

चीन र भारतबाट प्रतिनिधित्व गर्ने र कोप २९ का अध्यक्ष एवं अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन पनि गर्नेछन्।

१.५ डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धिलाई सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, टापुहरूमा भएको हानि र क्षति, लैङ्गिक र अन्तरपुस्तागत समानता लगायतका १२ वटा विभिन्न विषयमा छलफल हुनेछ।

कार्यक्रमको मुख्य उद्देश्य जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल गर्नु रहेको उनले बताइन्। सगरमाथा संवाद ‘जलवायु परिवर्तनः हिमाल र मानवताको भविष्य’ भन्ने नारासहित सञ्चालन हुनेछ।

(न्युज एजेन्सी नेपाल)

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार ००:००  २ : ०७ बजे