खोटाङ, २९ वैशाख । किरात समुदायको प्रमुख अर्थात् महान चाड साकेला (उँभौली) आज (सोमबार)देखि औपचारिकरुपमा शुरुवात् भएको छ । तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित महिना दिनसम्म साकेला (उँभौली) चाड मनाउने चलन छ ।
साकेला उँभौलीको अवसरमा किरात समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीहरुमा युवायुवती, केटाकेटी र बुढापाकाको जमघट तथा ढोल–झ्याम्टासहित साकेला गीत र नाचले गुञ्जयमान बन्ने गरेको छ । माँझ किरात भनेर चिनिने खोटाङका किरात बस्ती रहेको हरेक गाउँ तथा बस्तीहरुमा साकेला सिली प्रदर्शन गर्दै शुभकामना आदान–प्रदानसहित महिना दिनसम्म साकेला उँभौली चाड मनाउने गरिएको छ ।
साकेला उँभौली चाड अन्नबाली छर्ने (रोप्ने) बेला अर्थात वैशाख पूर्णीमादेखि महिना दिनसम्म मनाउने गरिन्छ । साकेला उँभौलीको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र एक ठाउँमा भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाएर साकेला सिली नाच्ने गरिन्छ ।
साकेला उँभौलीको अवसरमा किरात राईहरुको ऐतिहासिक थलो मानिएका जिल्लाका विभिन्न ठाउँहरुमा विधिवत्रुपमा पूजाआजा गरिएसँगै यो चाड मनाउने प्रचलन छ । किरात समुदायको हरेक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै ठूलो चउरमा गोलो घेरा हालेर साकेला नाचिन्छ ।
किरात समुदायको उद्गमस्थल मानिने खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित तुवाचुङ–जायाजुङ, दिक्तेल रुपाकोट मझुवागी नगरपालिकाको मझुवागढी, रुपाकोट र मेरुङ, जन्तेढुङ्गा गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा लगायतका धार्मिक तथा पर्यटकीयस्थलका साथै साकेला थानमा साकेला नाचिन्छ । छितको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, खाँडीको दौरासुरुवाल, ढाका टोपी लगायत किराती मौलिक भेषभुषामा ठाँटिएर हरेक किरातीका घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदाय मात्र नभइ गैरकिरात समुदायका युवायुवतीहरुसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुमा सहभागी भएर साकेला सिली नाच्ने गर्छन् ।
चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनासहितका सन्देशमूलक गीत गाउँदै साकेला उँधौली–उँभौली मनाइन्छ । खुला आकाशमुनि ठूलो मैदानमा गोलो घेरा हालेर संयुक्त रूपमा नाचगान गरी हर्षोल्लास पूर्वक साकेला नाचिन्छ ।
बालकदेखि युवा तथा वृद्धवृद्धासम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला नृत्यले आदिवासी जनजाति समुदायको सामूहिक भावना प्रदर्शन गर्छ । हात÷खुट्टाको चालले पङ्तिबद्ध रूपमा साकेला सिली नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएर थन्क्याएको जस्ता कृषि कार्यमा गरिने प्रक्रियाहरु प्रदर्शन गरिन्छ ।
दश स्थानीय तह रहेको खोटाङमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अवस्थित किरात ऐतिहासिकस्थल मझुवागढीबाट औपचारिकरुपमा शुरुवात गरिने साकेला उँभौली चाड महिना दिनपछि दिक्तेलको माटीकोरे खेलमैदानमा सिली प्रद्र्धशनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गर्ने चलन छ । समापनको अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, विभिन्न जातीय सङ्घ संस्थाका प्रतिनिधि लगायतलाई सहभागी गराएर सामुहिकरुपमा साकेला सिली नाच्न लगाउने गरिन्छ ।
साकेला चाडले जातीय, धार्मिक तथा साँस्कृतिक सद्भावका साथै आपसी मेलमिलाप कायम गर्दै द्धन्द्धलाई निरुत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्ने किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किरातले बताउनुभएको छ । “साकेलामा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान–प्रदान गर्ने गरिन्छ । वर्षमा दुई पटक मनाइने साकेला चाडले किरात र गैरकिरातबीच आपसी सद्भाव र बन्धुत्वसमेत कायम गर्न सघाउ पु¥याउँछ”, उहाँले भन्नुभयो, “साकेला चाड अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णीमा र उठाउने बेला मङ्सिरे पूर्णीमाको अवसर पारेर वर्षमा दुई पटक मनाउने चलन छ । यसले पराइघर गएका छोरीचेली र बाउमाइती भेटेर दुःख÷सुखको कुराकानी गर्ने वातावरणसमेत सिर्जना गर्छ । साकेला उँभौली–उँधौली चाडलाई किरात समुदायले परापूर्वकालदेखि नै निक्कै महत्वका साथ मनाउने गरेका छन् ।”
साकेला उँभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लाहरुमा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिएको छ । साकेला उँधौली तथा उँभौली चाडलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा मान्ने गरेका छन् ।
किरात समुदायको साकेला उँभौली चाडको अवसरमा नेपाल सरकारले एक दिन अर्थात आज सार्वजनिक विदासमेत दिएको छ । आज किरात समुदायको साकेला उँभौली चाडसँगै बुद्धजयन्तीसमेत परेकाले सरकारले सार्वजनिक विदा दिएको हो ।

