६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी रेग्मी मृत फेला



खोटाङ, ८ वैशाख । रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिनुभएको छ । सोही गाउँपालिकाको वडा नं. १ कुभिण्डे निवासी ५७ वर्षीय रेग्मी घर नजिकै रहेको बारीको भित्तामा आज (सोमबार) मृत भेटिनुभएको हो ।

कार्यालय सहयोगी रेग्मी गोरेटो बाटोबाट करिब ८÷९ मिटर तल बारीको भित्तामा टाउको तल, खुट्टा माथि परेको अवस्थामा मृत भेटिनुभएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिनुभएको छ । मृतक रेग्मी गएराति दाजुको घरबाट करिब साढे ८ बजे हिँडेको जानकारी पाइएको वडाध्यक्ष राईको भनाइ छ । कार्यालय सहयोगी रेग्मीको गोरेटो बाटोबाट लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभएको छ ।

मृतक रेग्मीको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पठाएर अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक मिश्रको भनाइ छ । तत्कालीन कृषि विकास कार्यालय खोटाङ हुँदै कर्मचारी समायोजनका क्रममा रावाबेँसी गाउँपालिका पुग्नुभएका रेग्मीको श्रीमतीसहित चार छोरी र एक छोरा छन् । मृतक रेग्मी १६ महिनापछि अनिवार्य अवकाश हुँदै हुनुहुन्थ्यो ।

अत्यधिकमात्रामा मादक पदार्थ सेवन गर्दै आउनुभएका रेग्मीले सोही कारण लडेर ज्यान गुमाएको स्थानीयवासीले बताएका छन् । वैशाख–७ गते (हिजो) बिहान घरमा आफन्तहरुसँगै खाना खाएर कार्यालय जानुभएको रेग्मी घर बेलुका नपुग्दै बाटैमा मृत फेला पर्नुभएपछि आफन्तहरु चिन्तित बनेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार ००:००  १२ : ५८ बजे