५ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति रनिङ शिल्डको उपाधी पृथ्वी माध्यमिक विद्यालयलाई



खोटाङ, १४ माघ । केपिलासगढी गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले आफ्नो बनाएको छ । गाउँपालिकाले आयोजना गरेको तेस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार तेस्रो पटक विजयी भएपछि पृथ्वी माविले राष्ट्रपति रनिङ शिल्ड आफ्नो बनाएको हो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७०, पाँचौ संशोधन २०८० मा उल्लेख भएअनुसार लगातार तीन पटकसम्म रनिङ शिल्ड प्रतियोगितामा विजयी हुनेले सो रनिङ शिल्ड सधँैका लागि राख्न पाउने व्यवस्था छ । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सितोरियो कराँते र तेक्वान्दोसहित २६ स्वर्ण, २१ रजत २५ कास्य पदक ल्याएर पृथ्वी मावि बाक्सिलाले उपाधि जितेको हो ।

यही माघ–११ गतेबाट शुरु भएको प्रतियोगितामा आठ स्वर्ण, तीन रजत, एक कास्य पदकसहित शुक्रजित मावि दोस्रो र तीन स्वर्ण, छ रजत र एक कास्य पदकसहित जालपा मावि बाक्सिला तेस्रो भएको छ । प्रतियोगितामा एथलेटिक्सतर्फ जालपा माविका छात्रा अस्मिता खत्री, शुक्रजित माविका छात्र सन्देश विश्वकर्मा तथा भलिबलतर्फ शुक्रजित माविका छात्रा दिविशा राई र कुहुडाँडा माविका छात्र निशान राई उत्कृष्ट खेलाडी घोषित भएको आयोजकले जनाएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजयी प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई क्रमशः नगद  ५० हजार,  ४५ हजार र  ४० हजारको साथमा शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा विजयी विद्यालय तथा विद्यार्थीहरुलाई गाउँपालिका प्रमुख समिर राई, प्रमुख प्रशासकीय अधिकृत शौधन राई लगायतले पुरस्कार वितरण गर्नुभएको छ ।

प्रतियोगितामा गाउँपालिकाभित्र सञ्चालित नौँवटा माध्यमिक विद्यालयले सहभागिता जनाएको थियो । प्रतियोगितामा सहभागी विद्यालयलाई खाना तथा खाजाको लागि दूरीको आधारमा  ३५ हजार,  ३० हजार र  २५ हजार रकम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि गाउँपालिकाले  दश लाख रकम विनियोजन गरेको थियो । अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनोट भएका विद्यार्थीहरुले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार ००:००  ८ : ३३ बजे