२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : माघ–११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता



खोटाङ, ६ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माघ–११ गतेबाट अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । शुभम् फाउण्डेशनद्धारा सञ्चालित जनजागृति माध्यमिक विद्यालय सोल्मासँगको सहकार्यमा दिक्तेलबजारस्थित माटीकोरे खेलमैदानमा आयोजना हुने प्रतियोगितामा नगरपालिकाभित्रका २४ माध्यमिक विद्यालयका विद्यार्थीले सहभागिता जनाउने छन् ।

माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, सितोरियो कराँते र तेक्वान्दोगरि पाँच विद्या तथा ४९ इभेन्टमा ९८ स्वर्ण, ९८ रजत र १२२ रजतगरी ३१८ पदकका लागि प्रतिस्पर्धा गराइने आयोजकले जानकारी दिएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजयी विद्यार्थीलाई पदक र प्रमाणपत्र, प्रत्येक विद्यामा विजयी विद्यालयलाई ट्रफी र प्रमाणपत्र तथा समग्रमा प्रथम हुने विद्यालयलाई रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी विद्यालयलाई खेल सामग्री तथा यातायात भाडाका लागि आवश्यक बजेटको व्यवस्था गरिएको आयोजकले आज (आइतबार) पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । प्रतियोगिताका लागि नगरपालिकाको रु दश लाख तथा सहआयोजकको रु तीन लाख ७४ हजार १५० गरि जम्मा रु १३ लाख ७४ हजार १५० खर्च हुने अनुमान गरिएको नगर शिक्षा शाखाका कर्मचारी सुवासचन्द्र राईले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी हुने विद्यालयले यही माघ–९ गतेभित्र आफ्ना विद्यालय तथा खेलाडी विद्यार्थीको नाम दर्ता गरिसक्नुपर्ने जनाइएको छ । कक्षा–१२ सम्मका विद्यार्थी सहभागी हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने विद्यार्थीको उमेर १८ वर्ष ननाघेको हुनुपर्ने सहआयोजक जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमकुमार राईले जानकारी दिनुभयो ।

अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको औपचारिक उद्घाटन माघ–११ गते बिहान ठीक ११ः०० बजे नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गर्नुहुने जनाइएको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा आयोजना हुने प्रतियोगिताको समापन माघ–१४ गते दिउँसो ठीक २ः०० बजे कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले शुभम् फाउण्डेशनको प्राङ्गणमा गर्नुहुने कार्यतालिका सार्वजनिक गरिएको छ ।

अन्तर माध्यमिक विद्यालयस्तरीय प्रतियोगितामा छनोट भएका विद्यार्थीले नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा ठूलो स्थानीय तह (पन्ध्र वडा रहेको) यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तेस्रो पटक अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न लागेको हो ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजयी विद्यार्थीले प्रदेश तथा राष्ट्रियस्तरको १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालन हुने नवौँ जिल्लास्तरीय प्रतियोगिताको मिति भने, अहिलेसम्म टुङ्गो लागेको छैन ।

नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्लाका दशवटै स्थानीय तहले धमाधम पालिकास्तरीय प्रतियोगिता सञ्चालन गरिरहेका छन् । खोटेहाङ गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाले भने, यसअघि नै सम्पन्न गरिरहेका छन् ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार ००:००  ६ : ०७ बजे