खोटाङ, ४ माघ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङले पत्रकार महासङ्घको उपत्यका प्रदेश अध्यक्षमा निर्वाचित टेनिस रोकालाई सम्मान गरेको छ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा जन्मिएर लामो समयदेखि राजधानी काठमाडौँमा पत्रकारिता गर्दै आउनुभएका रोकालाई पत्रकार महासङ्घको कार्यालयमा आयोजित कार्यक्रममा बधाई तथा शुभकामनासहित सम्मान गरिएको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष रोकाले जिल्लाको समस्या समाधान तथा सहकार्यका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ । राजधानी दैनिकमा कार्यरत रोका गत मङ्सिर–२८ गते भएको पत्रकार महासङ्घको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका उम्मेदवारलाई पराजित गर्दै प्रेस सेन्टर नेपालको तर्फबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

