पन्ध्र दिनसम्म मनाइने उँधौली साकेला चाडको अवसर पारेर जिल्लाका किरात समुदायले आफ्नो समुदायको ऐतिहासिकतासँग जोकिएका ठाउँ तथा पर्यटकीयस्थलहरुमा तीन चुल्हाको पूजाआजासहित साकेला सिली पर्दशन गरिरहेका छन् । किरात समुदायको उद्गमस्थल मानिने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित तुवाचुङ–जायाजुङका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढी, रुपाकोटगढी र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङ लगायतका साकेला थानहरुमा साकेला सिली प्रदर्शन तथा तीन चेल्हाको पूजा गर्ने चलन छ ।
उँधौलीको चाडको पहिलो दिन आज (आइतबार) जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको मझुवागढीमा तीन चुल्हाको पूजाआजा गर्नुका साथै बृहत् साकेला सिली प्रदर्शनीको आयोजना गरिएको छ । किरात ऐतिहासिकस्थल मझुवागढीमा आयोजित बृहत साकेला सिली प्रदर्शनी कार्यक्रममा गैर किरात समुदायका युवायुवतीको समेत उल्लेख्यमात्रामा सहभागिता रहेको छ ।
समुन्द्री सतहदेखि करिब दुई हजार ७०० मिटर उचाईमा अवस्थित रुपाकोटगढीमा आइतबार नै भेला भएका खार्मी, जालपा, हौँचुर लगायतका किराती पुर्खा तथा धामीहरुले प्रकृतिको पूजा आराधना गरी उँधौली चाडको औपचारिकरुपमा शुरुवात गरेका छन् । रुपाकोटगढीमा किराती पुर्खा खारम्बु राजाले शासन गरेको इतिहास छ ।
किरात ऐतिहासिकस्थल रुपाकोटगढीमा पूजाआजा गरेर औपचारिक रुपमा शुरुवात गरिएको साकेला उँभौलीको अवसरमा आपसमा शुभकामना आदानप्रदानसमेत गर्ने गरिएको दुमकिम खार्मीका उपाध्यक्ष दिलकुमार राईले जानकारी दिनुभयो । उँभौलीमा आ–आफ्नो थुम (टोल)मा रहेको साकेला थानमा भेला भएर भूमिको पूजा गर्दै साकेला चाड मनाउने खार्मीका किरात समुदायले उँधौलीमा भने, एकै ठाउँ (रुपाकोटगढी)मा भेला भएर सामुहिकरुपमा भूमिको पूजा गर्दै मनाउने गरेका छन् ।
वर्षको दुई पटक मनाइने साकेला चाडको उँधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामल लगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किरात राईहरुले बताएका छन् ।
उँधौली र उँभौलीमा किराँत राईहरुको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला नाच्ने गरिन्छ । छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपी लगायत किराँती मौलिक भेषभुषामा सजिएर हरेक किराँत राईहरुको घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किराँत समुदायमात्र नभइ गैरकिराँत समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् ।
चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङ (किराती पुर्खाहरु)ले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिएको जनाइएको छ । साकेला उँधौली तथा उँभौली किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा उँधौली १५ तथा उँभौली महिना दिनसम्म मान्ने गरेका छन् ।
उँधौली तथा उँभौलीको अवसरमा किरात समुदायले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायलेसमेत साकेला सिली नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध सँस्कृतिको रुपमा विकास भएको किराँत राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किरातले बताउनुभयो । “साकेला चाडमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान÷प्रदान गर्ने गरिन्छ”, उहाँले भन्नुभयो, “साकेला चाडले जातीय, धार्मिक तथा साँस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्धन्द्धलाई निरुत्साहित गर्न भूमिका खेल्ने गरेको छ ।”
साकेला उँधौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङलगायतका किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिएको छ । अन्नबाली लगाउने समय अर्थात वैशाखे पूर्णीदेखि उँभौली र अन्न भित्र्याउने बेला अर्थात मङ्सिरे पूर्णीमादेखि उँधौली चाड मनाउने चलन छ ।
साकेला उँधौलीको अवसर पारेर नेपाल सरकार, गृह मन्त्रालयले आज (आइतबार) एक दिन सार्वजनिक विदासमेत दिएको छ । किरात समुदायको उँधौली साकेला, योमरी पुन्हि–ज्यापू दिवस (धान्य पूर्णिमा)को अवसरमा सरकारले सार्वजनिक दिएको हो ।