किशन भुजेल
खोटाङ, ८ असार । खोटाङको सदरमुकाम दिक्तेल बजारमा अनुगमनको कार्यलाई निरन्तरता दिइएको छ । शनिबार विहान जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय,उद्योग वाणिज्य संघ, कर कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वयमा सदरमुकाम दिक्तेल बजारको भानुचौकदेखी हाटडाँडासम्म अनुगमन गरिएको हो ।
अनुगमकाक्रममा दित्तेलबजारस्थित भानुचौकमा अवैधानिकरूपमा सञ्चालन गरिरहेको मासु पसललाई कारबाही गरेको छ । मापदण्ड विपरित सञ्चालन गर्दै आइरहेका सोल्माली मासू पसललाई पाँच हजार र सविन मिट पसललाई तीन हजार रुपैयाँ जरिवाना गरी अनुगमन समितिले कारबाही गरेको हो । अनुगनकै क्रममा सोही ठाउँको एक पसलबाट असन्तुलित तराजु (किलो काटा) जफत गरिएको जिल्ला प्रशासन कार्यालय खोटाङका प्रशासकीय अधिकृत एवम् अनुगमन समितिका संयोजक हीराधन राईले जानकारी दिनुभयो ।
अनुगमनमा सबै पसलहरूलाई मापदण्ड अनुसार हप्ता दिन भित्र पसल सञ्चालन गर्न आग्रह गरिएको छ । हप्ता दिन भित्र सरकारले तोकेको मापदण्ड अनुसार सञ्चालन नगरेको पाइएमा पसललाई सिल गरिने प्रशासकीय अधिकृत एवम् अनुगमन समितिका संयोजक राईले जानकारी दिनुभयो ।
यसैबीच, अनुगमन समितिले शुक्रबार विहान दिक्तेलबजार अनुगमन गरेर अस्वस्थकर मासु, तरकारी र फलफूल जफत गरेको थियो ।

