खोटाङ। खानीडाँडा विमानस्थलदेखि–याम्खा–रातमाटा–पञ्चमीबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै थामर्खक जोड्ने सडक अस्फाल्ट पिचको काम सुरु गरिएको छ । सङ्घीय सरकारको ५० प्रतिशत र कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको ५० प्रतिशत गरी बहुवर्षीय योजनाअन्तरगत विनियोजन भएको रु ३० करोड बजेटमा यो सडकमा अस्फाल्ट पिचकोे काम सुरु गरिएको हो ।
भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत ठेक्का आव्हान गरिएकामा ठेकेदार कम्पनी पवित्रा–गाउँले जेभी उदयपुर गाईघाटले रु १७ करोड ४४ लाख दश हजार बजेटमा सम्झौता गरेर सडक निर्माणसहित अस्फाल्ट पिचकोे काम सुरु गरेको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । सम्झौताअनुसार ठेकेदार कम्पनीले दुई वर्ष ११ महिनाभित्र यो सडक निर्माणसहित अस्फाल्ट पिचको काम सम्पन्न गरेर कार्यालयलाई हस्तान्तरण गर्नुपर्नेछ ।
पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनीसँग गरेको सम्झौताअनुसार आठ किलोमिटर सडक निर्माणसहित अस्फाल्ट पिच गरिने जनाइएको छ । यो सडक निर्माण सम्पन्न भएपछि जिल्लाको दक्षिणी भेगमा पर्ने स्थानीयहरुसँग सिधा यातायात सम्पर्क स्थापित हुनुका साथै स्थानीय बासिन्दालाई यातायातका सवारी साधनमार्फत सदरमुकाम दिक्तेल बजार आवतजावतमा सहज हुनेछ ।
कोशी प्रदेश सरकारका निर्वतमान भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले सोमबार डाँडागाउँमा एक कार्यक्रमगरी यो सडकको औपचारिक रुपमा शिलान्यास गर्नुभएको छ । यो सडक निर्माणसहित अस्फाल्ट पिच सम्पन्न भएपछि यातायात सेवा सहज हुनुका साथै आफूहरुको समय र खर्चमा समेत बचत हुने अपेक्षा गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।
सडक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै निवर्तमानमन्त्री राईले खोटाङमा विकास निर्माणका काममा ढिलासुस्ती र अलमल्याउने प्रवृत्ति स्वीकार्य नहुने बताउनुभएको छ । पूर्वाधार विकास कार्यालय तथा निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिनुहुँदै निवर्तमानमन्त्री राईले नागरिकलाई समेत योजना कार्यान्वयनमा निगरानी गर्न आग्रह गर्नुभएको छ ।
साप्सुखोला पारिका साकेला, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्नेढुङ्गा र बराहपोखरी गाउँपालिकालाई दिक्तेल बजारसँग जोड्ने यो सडक अहिले कच्ची अवस्थामा सञ्चालन हुँदै आएको छ । यो सडक निर्माणसहित अस्फाल्ट पिच सम्पन्न भएपछि जिल्लाको समग्र आर्थिक विकासमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।
कच्ची सडक निर्माण गरेर यातायात सञ्चालन गरिएको लामो समयपछि यो सडक स्तरोन्नतिसँगै अस्फाल्ट पिच हुनेभएपछि स्थानीय उपभोक्तासमेत हर्षित भएका छन् । यो सडक पिच नहुँदा हिउँदभर करिब छ महिनामात्र ढुलाम्मे अवस्थामा यातायात सञ्चालन हुने गरेको छ ।

