८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा खाना पकाउने ग्याँसको अभाव छैन : उद्योग वाणिज्य सङ्घ



खोटाङ। देशभर खाना पकाउन प्रयोग गरिने ग्याँस अभाव भएको हल्ला चलिरहेको बेला खोटाङमा भने अभाव नरहेको बताइएको छ । इरान र अमेरिकाबीच जारी युद्धका कारण बाहिरबाट ग्याँस नआएपनि जिल्लामा भने अभाव नभएको उद्योग वाणिज्य सङ्घ खोटाङले जनाएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रिजालको लगायतका ग्याँस सिलिण्डरहरु हालसम्म प्रयाप्त रहेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिनुभएको छ । “कम्पनीहरुले नपठाएका कारण जिल्लामा केही दिन अघिदेखि नोबेल ग्याँस भने पर्याप्त मात्रामा थिएन । कटारीबाट ३०० वटा पठाएकाले तत्कालका लागि नोबेल ग्याँस पनि अभाव हुँदैन”, उहाँले भन्नुभयो, “अहिले हरेक उपभोक्ताले आफ्नो घरमा दुई–तीन वटासम्म ग्याँस सिलिण्डर खरिद गरेर भण्डारणगरी राखेका छन् । इरान र अमेरिकामा चलिरहेको युद्ध लामो समयसम्म जारी रहेको खण्डमा भने जिल्लामा ग्याँससँगै दैनिक उपभोग्य सामानको समेत अभाव हुने देखिन्छ । अन्यथा अहिले नै ग्याँस लगायत कुनै पनि सामानको अभाव छैन ।”

खाना पकाउने ग्याँस अभाव भएको बाहिरी हल्ला जिल्लावासीमा समेत फैलिएपछि विशेषगरी विद्यार्थीका लागि प्राथमिकतामा राखेर ग्याँस वितरण गरिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ । विद्यार्थी तथा कोठा भाडामा बस्दै आएका कर्मचारीको समस्यालाई मध्येनजर गर्दै एउटामात्रै ग्याँस सिलिण्डर हुनेलाई प्राथमिकता दिएर वितरण गर्नेगरी तयारी गरिएको वाणिज्य सङ्घका अध्यक्ष आचार्यले जानकारी दिनुभएको छ ।

बाहिरबाट आएका ग्याँस सिलिण्डरहरु उपभोक्ताले नै भण्डारण गरेर राख्नेगरी खरिद गरेर लैजाने हुँदा बजारमा पर्याप्तमात्रामा ग्याँस सिलिण्डर नदेखिएको व्यापारीहरुले बताएका छन् । इरान र अमेरिकाको युद्धको बहाना बनाएर आफूहरुले जिल्लामा ग्याँसको कृतिम अभाव सिर्जना तथा कालोबजारी नगरिएको व्यावसायीहरुको दाबी छ ।

बाहिरी जिल्लामा खाना पकाउन प्रयोग गरिने ग्याँस अभाव भएको हल्ला फैलिएपछि जिल्लाका उपभोक्ताहरु पनि भण्डारण गरेर राख्नेगरी सिलिन्डर खरिद गर्न थालेका छन् । केही दिनदेखि बाहिरी हल्लामा फैलिएको कारण जिल्लामा पनि ग्याँसको व्यापार वृद्धि भएको व्यापारीहरुले बताएका छन् ।

दश स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीयले खाना पकाउनका लागि ग्याँस प्रयोग गर्दै आएका छन् । ग्याँस आयात रोकिएको खण्डमा पुनः वैकल्पिक उपाय अपनाएर खाना पकाउनुपर्ने बाध्यता सिर्जना हुने देखिएको छ ।

ग्याँस चुल्हाले छिटो, सजिलो र सस्तोगरी खाना पकाउन सकिने भएपछि गाउँका अधिकांश स्थानीयले दाउरा प्रयोग गरेर खाना पकाउन छाडिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका दिलकुमार राईले बताउनुभएको छ । “ग्याँस अभाव भएको हल्ला गाउँसम्म नै फैलिएको छ । ग्याँस चुल्हाका कारण धेरैको घरमा आगो बाल्ने अगेनासमेत हटाइसकिएको छ”, उहाँले भन्नुभयो, “यदि साच्चिकै अभाव भएको खण्डमा वृद्धवृद्धामात्रै बसेको घरमा समस्या हुने देखिन्छ । अन्यमा खासै प्रभाव पर्दैन ।”

जिल्लामा ग्याँस तथा दैनिक उपभोग्यवस्तुको कृतिम अभाव एवम् कालोबजारीकरण नगर्न जिल्ला प्रशासन कार्यालय खोटाङले व्यापारीहरुलाई आग्रह गरेको छ । कृतिम अभाव एवम् कालोबजारीकरण गरेको खण्डमा कडाभन्दा कडा कारबाही गरिने गरिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताउनुभएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार ००:००  १ : ३२ बजे