२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेल : वार्ता टोली गठन गरिएसँगै संयोजकसहितका टोली काठमाडौँ प्रस्थान



खोटाङ । बाँसजन्य उद्योग स्थापनाको सन्दर्भमा सङ्घीय सरकारसँग छलफल गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वार्ता टोली गठन गरेको छ । खेर गइरहेका बाँसलाई प्रयोगमा ल्याएर उद्योग स्थापना गर्दै आर्थिक आम्दानी लिने नीति निर्माणका लागि दबाब दिन नगरप्रमुख तीर्थराज भट्टराई भोक हड्तालमा उत्रिनुभएपछि नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयको आव्हानमा नगर उपप्रमुख विशन राईको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो ।

नगर कार्यपालिकाको साउन–१० गते बसेको बैठकले नगर उपप्रमुख एवम् कार्यवाहक नगर प्रमुख राईको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको प्रवक्ता दिनेश घिमिरेले जानकारी दिनुभएको छ । वार्ता टोलीको सदस्यमा पूर्व वन सचिव डा. अन्नपूर्ण दास, वडाध्यक्ष दिनेश घिमिरे, दानबहादुर राई, दिनेश राई, बाँसविज्ञ प्रणव प्रधान र एकजना कानूनविज्ञलाई चयन गरिएको छ ।

मन्त्रालयले छलफलका लागि साउन–८ गते औपचारिक रुपमा पत्र पठाएपछि नगर कार्यपालिकाको बैठक बसेर वार्ता टोली गठन गरिएको टोलीका संयोजक एवम् कार्यवाहक नगर प्रमुख राईले जानकारी दिनुभएको छ । “मन्त्रालयको पत्रअनुसार वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र नगर प्रमुख तीर्थराज भट्टराईबीच साउन–९ गते छलफल भएको थियो । थप छलफल गर्न र वार्तालाई निष्कर्षमा पु¥याउन मेरो संयोजकत्वमा वार्ता टोली बनाइएको हो”, उहाँले भन्नुभयो, “खेर गइरहेका बाँसलाई उपयोगमा ल्याउँदै स्थानीयस्तरमा उद्योग स्थापना गरेर युवापुस्ताका लागि रोजगारी सिर्जना गर्ने नगरपालिकाको नीति छ । हाम्रो माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ ।”

मन्त्रालयको आव्हानमा वार्ता टोली गठन गरिएसँगै संयोजकसहितका टोली आइतबार काठमाडौँ प्रस्थान गरेको छ । स्थानीय उत्पादन र श्रोतको उपयोग, जलवायु सङ्कटविरुद्धको आवाज, सुशासन र भ्रष्टाचारविरुद्धको अभियान तथा नीति निर्माणका लागि सङ्घीय सरकारसँग राखिएको सात बुँदे माग सम्बोधन नभएपछि सत्याग्रहमा जान बाध्य भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले आन्दोलनका लागि विभिन्न नारासमेत तय गरेको छ । ‘विश्व जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरौँ’, ‘वन, वातावरण र पर्यावरणयुक्त सामग्री प्रयोग गरौँ’, ‘स्थानीयलाई स्वरोजगार र आत्मनिर्भर बनाउने हाम्रो अभियान’, ‘भ्रष्टाचारमुक्त, संस्कृतियुक्त नगरमा सबैको आत्म सम्मान’ जस्ता नाराहरु त्य गरेको हो ।

नगर प्रमुख भट्टराईले साउन–३ गते पत्रकार सम्मेलन गरेर बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई प्रयोग गर्ने नीतिगत व्यवस्थाको सुनिश्चितताका लागि सत्याग्रहको घोषणा गर्नुभएको थियो । साउन–११ गते बिहानदेखि भोक हड्ताल गर्नेगरि नगर प्रमुख भट्टराई साउन–४ गते नै काठमाडौँ पुग्नुभएको छ ।

काठमाडौँमा रहेको अवसर पारेर नगर प्रमुख भट्टराईले आन्दोलनकै कार्यक्रम अनुसार उच्चपदस्थ व्यक्तिहरुलाई बाँसका कुर्सी र टेबल उपहार दिइरहनुभएको छ । नगरपालिकाको घोषित कार्यक्रम अनुसार राष्ट्रपति रामचन्द्र पौडेलसहित नेपालका उच्चपदस्थ छजना व्यक्तिलाई बाँसका कुर्सी र टेबल उपहार दिन थाल्नुभएको हो ।

नगर प्रमुख भट्टराईले आज (साउन–११ गते) बिहान ८.४७ बजे सिंहदरबारको दक्षिणीगेटमा पुगेर कपाल मुण्डन गरेर मुखमा कालो पट्टी बाँधेर बाँसको घाना बोकेर खाली खुट्टा माइतीघर मण्डला पुगेर भोक हड्ताल गर्ने तयारी गर्नुभएको छ । तीन दिनसम्म दैनिक बिहान नौँ बजेदेखि साँझ पाँच बजेसम्म भोक हड्तालमा बस्दा पनि आफूहरुको माग सुनुवाइ नभए साउन–१४ गते बिहान नौँ बजेदेखि अनिश्चितकालीन आमरण अनसन बस्ने नगर प्रमुख भट्टराईले जानकारी दिनुभएको छ ।

नगरपालिकाले ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित फागुन–१५ गतेबाट तीन दिने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरेको थियो । दिक्तेल बजारमा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन शुरु भएको दिन फागुन–१५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’ का रुपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।

खोटाङ घोषणा–पत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय श्रोतको रूपमा मान्दै यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्रको प्रवद्र्धन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने विश्वास गरिएको छ । सम्मेलन अवधिभर बाँससँग सम्बन्धित नीति निर्माण, खेती विस्तार, उद्यम विकास, बजारीकरण लगायतका विषयमा ४४ जना विज्ञ तथा अध्येताबाट प्रस्तुत भएका २३ वटा कार्यपत्रको निचोडको आधारमा ‘घोषणा–पत्र’ जारी गरिएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०८२, आइतबार ००:००  ८ : ५७ बजे