खोटाङ । पहिरोका कारण साकेला गाउँपालिकामा अवरुद्ध बनेको सडक मर्मत पछि सञ्चालनमा ल्याइएको छ । सडकमा लगाइएको ग्याविन जालि पहिरोले बगाएपछि अवरुद्ध बनेको सडक जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीयवासिको सक्रियतामा मर्मत गरी पुन सुचारु गरिएको हो ।
पहिरोका कारण बाँझेच्यानडाँडा–रतन्छा–मानेभन्ज्याङ सडक खण्ड अन्तर्गत वडा नम्बर १ को रुपुवा खोला नजिक लगाईएको ग्याविन जाली गत मंगलबार राती परेको अविरल वर्षाका कारण पहिरोले बगाएको थियो । पहिरोका कारण अवरुद्व बनेको सडक बिहीबार गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा गएको टोलीले मर्मत गरि पुन सञ्चालनमा ल्याएको हो । गाउँपालिकाको आकस्मिक पूर्वाधार सेवा अन्तर्गत अवरुद्व बनेको सडक खुलाउनका लागि जनश्रमदानमार्फत अस्थायी पर्खाल लगाएर यातायात आवागमन गर्न सक्ने बनाईएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभएको छ ।
पहिरोका कारण ग्याविन जाली बग्दा करीव ५० लाख रुपैंया बराबरको क्षति भएको छ । गाउँपालिकाको गौरवको सडक मानिएको उक्त सडकमा स्थानीय, प्रदेश तथा संघीय सरकारको करोडौं रुपैंया बजेट लगानी भएको छ । गत आर्थिक वर्ष २०८१÷०८२ मा संघीय समपुरक योजना अन्तर्गत केही बजेट प्राप्त भई निर्माणको काम भएको थियो भने चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि संघीय समपूरक योजना अन्तर्गत बजेट विनियोजन भई काम प्रारम्भ हुने चरणमा रहेको छ । संघीय समपूरक योजना अन्तर्गत यस सडक निर्माणका लागि स्थानीय तहको २० प्रतिशत लागत साझेदारी हुनेछ । बहुबर्षिय योजना अन्तर्गत निर्माण भईरहेको यस सडकमा आगामी आर्थिक वर्षको समेत गरी कूल ६ करोड २३ लाख बराबरको काम यसै वर्षदेखि प्रारम्भ हुने गाउँपालिका अध्यक्ष राईको भनाइ छ ।
हाल ग्राभेल सडकको रुपमा रहेको करीव १७ किलोमिटर लामो उक्त सडक कालोपत्रे सहित सम्पन्न हुनका लागि भने एक अरव १४ करोड रुपैंया लागत बराबरको बिस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएको पालिकाले जनाएको छ ।

