खोटाङ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय खोटाङले दुइ उपभोक्ता समिति र एक निर्माण व्यावसायीलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालित १५७ वटा योजनामध्ये दुई उपभोक्ता समितिसहित एक निर्माण व्यावसायीलाई सम्मान पत्रले सम्मान गरेको हो ।
सिंचाइ प्रणालिको प्रभावकारी सञ्चालन संरक्षण तथा व्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा सञ्चालित टुकुरे खोला भस्मे दोभान सिंचाइ जल उपभोक्ता समितिका अध्यक्ष कर्ण राय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ वुइपामा सञ्चालित डल्ले खोला टारी कुसुङ्खा जल उपभोक्ता समितिका अध्यक्ष कवित राई र लक्ष्मि एण्ड निर्मला कन्स्ट्रक्सन प्रा.लि.का प्रतिनिधि टिकाराम श्रेष्ठलाई सोमबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र डिभिजन प्रमुख डा.महेश यादवले सम्मान पत्रले सम्मान गर्नु भएको हो ।

आर्थिक वर्ष २०८१÷०८२ मा टुकुरे खोला भस्मे दोभान सिंचाइ योजना मर्मतका लागि ३० लाख वजेट विनियोजन भएको थियो । यो सिंचाई कुलोले याम्खाको हजार रोपनी खेति योग्य जमिन सिंचित भएको समितिका अध्यक्ष रायले बताएका छन् । यस्तै, डल्ले खोला टारी कुसुङ्खा सिंचाई योजनाका लागि ४० लाख वजेट विनियोजन भएको थियो । सिंचाइ कुलेले १५० घर धुरीको खेति योग्य जमिनलाई सिंचित गरेको समितिका अध्यक्ष राईले बताएका छन् । उनका अनुसार, सिंचाइ कुलोका कारण तरकारी बाली, फुलफुल, धान, मकै, गहुँलगायतका खाद्यन्न बालि उत्पादनमा वृद्धि हुने गरेको छ ।

कार्यालयले आकस्मिक बाढी तथा पहिरो व्यावस्थापन तथा निर्माण कार्य अन्तरगत स्थानीय वासिन्दाका घर तथा सडक जोगाउनका लागि आपतकालिन अवस्थामा समयमै गुणस्तरीय र प्रभावकारी निर्माण कार्य गरेको भन्दै लक्ष्मि एण्ड निर्मला कन्स्ट्रक्सन प्रा.लि.लाई सम्मान पत्रले सम्मान गरेको हो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दे जिल्ला समन्वय समिति खोटाङका प्रमुख राईले योजनाहरु त धेरै नै बन्छ । धेरै सम्झौता हुन्छ । र धेरै योजनाहरु सम्पन्न पनि हुन्छन् । तर त्यसमध्येमा पनि उदाहरणीय कामलाई उजागर गर्नु पर्नेमा जोड दिनुभयो। गाउँ–वस्तिमा सिंचाई कुलो पुगेका कारण पनि केहि मात्रामा बसाईसराइ रोक्न मद्दत पुगेको बताउनुभयो । प्रमुख राईले सम्मानित हुने तीने जनलाई बधाई ज्ञापन गर्नुभएको छ ।
जल उपभोक्ता समिति र निर्माण व्यवसायीलाई प्रोत्साहन गर्नका लागि हामिले दुई उपभोक्ता समितिसहित एक निर्माण व्यावसायीलाई सम्मान–पत्रले सम्मान गरेका हौं। डिभिजन प्रमुख डा. यादवले भन्नुभयो, “जिल्लामा १५७ वटा योजना मध्ये हामिले समयमै काम सक्ने, गुणस्तरीय, मापदण्ड अनुसार काम गर्ने उत्कृष्ट तीन जनालाई सम्मान गरेका हौं । किनभने हामिले हौषला प्रदान नगरर्ने हो भने अरु कस्ले गर्ने ।” उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन खोटाङका डिभिजन प्रमुख सुमन भट्टराई नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष हरिवोल आचार्य, सिनियर इन्जिनियर लोजाङ देण्डुप शेर्पा, लेखा अधिकृत विमल फुयल, विनोद ढकाल लगायतको उपस्थिती रहेको थियो ।


